
काठमाडौं । मेगा बैंक नेपालको पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस् औपचारिक शुरु भएको छ । काठमाडौंमा शुक्रबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्की र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा उक्त नयाँ मर्चेन्ट बैंकको उदेघाटन गरेका थिए ।
मेगा क्यापिटल मार्केटस् गत चैत १८ गते मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो । क्यापिटलको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँया रहेको छ ।
मेगा बैंक नेपाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले मेगा बैंकका देशभर छरिएका १०२ शाखाबाट मेगा क्यापिटलको सेवाहरु उपलब्ध गराउने बताइन् । अब मेगा बैंकबाटै पूँजीबजारसँग सम्बन्धित डिम्याट खाता संचालन, निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा ग्राहकले पाउने उनले बताइन ।
मेगा क्यापिटलको मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गरिने मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदयकान्त झाले बताए ।
प्रतिक्रिया दिनुहोस