
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच आज बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । लघु, घरेलु, साना तथा मझौला उद्यमहरू(एसमएमईज) को प्रबद्र्धन एवं संरक्षण गर्न वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्न दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज एक कार्यक्रमबीच महासंघको सचिवालयमा हस्ताक्षर गरेका हुन् । दुबैै संस्था बीच भएको समझदारी अनुसार वाणिज्य बैंकहरू र एसएमईहरूका बीच कर्जा लगायतका सेवा प्रवाहमा सहज हुने बताइएको छ । उद्यमी, व्यवसायी एवम् बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न र उद्यमी, व्यवसायी सम्बन्ध सुमधुर हुने देखिएको छ ।
एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवम् सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने भएको छ । आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्ने समेत बताइएको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुबै संस्था बीच भएको यो समझदारी कोशेढुंगा हुने बताए । आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं, निश्चिय नै एसमएमईजले विशेष गरी ऋणको सहज पहुँचमा देखिदै आएको समस्या समाधान हुने बताए । ‘एसएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ,’ उनले भने ।
नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुबै संस्था बीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताए । ‘हामी दुबै संस्था समृद्धिका असल साझेदार हौं,’ उनले भने ‘हामी बीचको सहकार्य निरन्तर अगाडि बढाउँदै केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौ ।’ अहिले ७४९ स्थानीय तहमा बैंकको सेवा पुगेको बताउँदै तल्लोस्तरसम्म सहयोग गर्ने बताए ।
महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता गरे ।
मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस