
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रादेशिक शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले सात प्रदेशका लागि प्रादेशिक शाखा कार्यालय सञ्चालन गर्नका लागि स्वीकृति दिएको हो ।
अब राष्ट्र बैंकबाट स्वीकृत पाएपछि सहकारी बैंकको प्रादेशिक शाखा सातै प्रदेशमा पुग्ने देखिएको छ । प्रदेश नं.१ को विराटनगर, प्रदेश नं.२ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको राष्ट्र बैंक निमयन विभाग प्रमुख देवकुमार ढकालले जानकारी दिए । ‘बैंकलाई प्रादेशिक स्तरको कार्यालय खोल्न हिजो अनुमति दिइएको हो,’ उनले भने ‘उक्त कार्यालयले सो प्रदेशमा रहेको सबै बैंक शाखाहरूको समन्वय तथा संयोजन गर्ने गर्दछ ।
राष्ट्र बैंकका अनुसार प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरूलाई उक्त प्रदेशको मातहतमा शाखा कार्यालय राख्ने गरी सहकारी बैंकलाई प्रदेशस्तरीय शाखा खोल्न अनुमति दिएको हो । प्रदेश कार्यालयसँग मातहतका शाखा कार्यालयहरूले समन्वयात्मक तथा प्रशासनिक कार्यहरु गर्ने गरी स्वीकृत पाएको उनले बताए ।
देशमा संघीय संरचना कार्यान्वयनमा गएपछि नै सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरेको थियो । तर, अहिलेसम्म उक्त कार्यालय सञ्चालन गर्न अनुमति पाएको थिएन । बैंकको साधारणसभाको प्रदेश शाखा कार्यालय स्थापना गर्ने निर्णय अनुसार नेपाल राष्ट्र बैंकमा माग गरिएको थियो ।
प्रदेश अन्तरगतका शाखाहरुको संयोजनकारी भूमिका निर्वाह गर्ने गरी छिटै प्रदेश शाखा कार्यालयहरु सञ्चालन गरिने बैंकले जानकारी दिएको छ । राष्ट्रिय सहकारी बैंकमा हाल ६८ वटा शाखा कार्यालयहरू सञ्चालनमा छन् । बैंकका करिव १३ हजार सहकारी संघ संस्था सदस्य रहेको छ भने २ अर्ब ८५ करोड शेयर पुँजी रहेको छ । बैंकले ५८ अर्ब निक्षेप संकलन गरी ३० अर्ब कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस