
काठमाडौं । नेपाल राष्ट्र बैंकको ढुकुटीमा एकै महिना ४६ अर्ब रुपैयाँ नगद थपिएको छ । राष्ट्र बैंकले प्रकाशन गरेको माघ महिनाको मासिक वित्तीय विवरणमा पुस मसान्तको तुलनामा यस्तो वृद्धि देखिएको हो ।
माघ मसान्तमा राष्ट्र बैंकसँग ७ खर्ब २९ अर्ब ९४ करोड रुपैयाँ बराबरको नगद तथा नगदसरहको सम्पत्ति रहेको उल्लेख गरिएको छ । यो सम्पत्ति अघिल्लो महिनाको मसान्तमा ६ खर्ब ८४ अर्ब ९ करोड रुपैयाँ बराबर थियो । यो महिना यस्तो सम्पत्ति करिब ४६ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकको विवरणमा उल्लेख गरिएको छ ।
नगद बढेको राष्ट्र बैंकले यो अवधिमा लगानीको आकार निकै घटाएको छ । अघिल्लो महिनासम्म ७ खर्ब २२ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको लगानी माघ महिनामा घटेर ६ खर्ब ४२ अर्ब रुपैयाँमा सीमित भएको छ । यस्तो लगानी एक महिनामा ८० अर्ब रुपैयाँले घटेको हो ।
सरकारको ढुकुटीमा ३ खर्ब
यसैबीच नेपाल सरकारका विभिन्न निकायहरुको नाममा राष्ट्र बैंकको खातामा ३ खर्ब रुपैयाँ भन्दा बढी जम्मा भएको छ । सरकारको नाममा माघ मसान्तमा ३ खर्ब ७ अर्ब रुपैयाँ जम्मा भएको राष्ट्र बैंकले जनाएको छ । पुस मसान्तमा सरकारी ढुकुटीमा २ खर्ब ६४ अर्ब रुपैयाँ मात्रै थियो । माघ मसान्तको यो वृद्धि करिब ४३ अर्ब रुपैयाँ बराबर हो ।
सरकारले पर्याप्त रुपमा पुँजीगत खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा रकम थुप्रिएर बसेको हो । यसले पनि बजारमा ठूलो मात्रामा तरलताको होल्ड गरेर बसेको छ । निजी क्षेत्रको राजश्व सरकारी खातामा पुगेपछि निजी क्षेत्रले थप ऋण माग गर्छन् । यसले बैंकिङ ऋणको मात्रा बढाउँछ । तर, सरकारको खातामा जम्मा भएको रकम खर्च नहुँदा ऋण दिने लगानीयोग्य पुँजीको अभाव बढ्न थाल्छ ।
ऋणको मनग बढेपछि बैंकले घटाए निक्षेप
बजारमा ऋणको माग बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रहेको निक्षेप रकम घटाउँदै लगेका छन् । माघ महिनामा मात्रै बैंकहरुले २६ अर्ब रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको छ । माघ मसान्तसम्म राष्ट्र बैंकमा बैंकहरुको १ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप छ । पुस मसान्तमा यस्तो निक्षेप २ खर्ब २४ अर्ब रुपैयाँ थियो ।
राष्ट्र बैंकमा बैंकहरुको नाममा भएको कुल रकममा अनिवार्य नगद मौज्दात (सीआरआर) को रकम घटाएर बजारमा अधिक तरलताको अवस्था निकालिन्छ । यसले बजारमा तरलताको अवस्था घट्दै गएको देखाएको छ ।
चलनचल्तीमा ६ खर्ब ११ अर्बको नोट
राष्ट्र बेंकले अहिले बजारमा ६ खर्ब ११ अर्ब रुपैयाँ बराबरको चलनचल्तीको नोट रहेको जनाएको छ । बजारमा हुने कारोबारका लागि सो बराबरको रकम पठाएको राष्ट्र बैंकले उल्लेख गरेको छ । यो रकम अघिल्लो महिनाको भन्दा ८ अर्ब रुपैयाँले कम हो । अघिल्लो महिना ६ खर्ब १९ अर्ब रुपैयाँको नोट बजारमा चलनचल्तीमा थियो ।
यो महिनामा राष्ट्र बैंकको वासलात अघिल्लो महिना भन्दा घटेको छ । अघिल्लो महिना १५ खर्ब ७१ अर्ब रहेको राष्ट्र बैंकको वासलात रकम घटेर माघ मसान्तमा १५ खर्ब ५१ अर्बमा सीमित भएको हो । राष्ट्र बैंकले लगानी रकम घटाएर नगद मौज्दात बढाएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस