
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार रोक्का गरेको छ । नेप्सेले आइतबारदेखि कारोबार रोक्का गरिएको जानकारी दिएको हो ।
नेप्सेका अनुसार बैंकले लाभांश घोषणा गरेको सूचना कारोबार समयमा नै नेप्सेमा पठाएको भन्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२९१०(घ) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने, सूचना, जानकारी तथा निर्णय सिर्जना भएको सोही दिन अथवा भोलिपल्ट कारोबार खुल्नु अघि बुझाउनु पर्नेमा बैंकले उक्त व्यवस्था पालना नगरेको भन्दै कारोबार रोक्का गरेको छ ।
धितोपत्र सूचीकरण नियमावलीको ब्यबस्था अनुसार शेयर मूल्यलाई प्रभाव पार्ने सूचना नियम बमोजिम उपलब्ध नगराएको भन्दै नेप्सेले कम्पनीलाई ३ दिने स्पष्टिकरण सोधेको हो । नेप्सेले के कारणले उक्त सूचना समयमा उपलब्ध गराउन नसकिएको हो भन्ने बारेको जवाफ माग गरेको छ ।
नेप्सेले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । बैंकले यसअघि बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको भन्दै सूचना पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस