
काठमाडौं । सिन्धु विकास बैंकले चैत ९ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । आगन्तुक रिसोर्ट, बनेपा, काभ्रेमा विहान १०ः३० बजे सभा गर्ने निर्णय कम्पनीको फागुन १६ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । कोभिडको असरलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।
यस वर्ष कुनै पनि लाभांश प्रस्ताव नगरेको कम्पनीले गत आर्थिृक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित र चालू आवको लागि लेखापरिक्षकको नियुक्त लगाएतका विषय सभामार्फत पारित गर्नेछ ।अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृया गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
गत वर्ष ११ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६० प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन २८ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । बुक क्लोजको अघिल्लो कारोबार दिन महाशिवरात्रीको सार्वजनिक विदा परेकाले फागुन २६ गतेसम्म शेयर कायम गर्नुपरेको हो ।
प्रतिक्रिया दिनुहोस