
काठमाडौं । आम नागरिकले बैंक तथा वित्तीय संस्थामा बचतका लागि राखेको तीन लाख रुपैयाँसम्म निक्षेपको सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको निक्षेप तथा कर्जा सुरक्षण कोषले अहिलेसम्म करिब ३ करोड निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेको छ । यसरी निक्षेप सुरक्षण गर्दा यदि आम ग्राहकले पैसा राखेको बैंक तथा वित्तीय संस्था कुनै कारणबश बन्दै भएका अर्थात लिक्युडिटीमा गएमा सो निक्षेप रकम कोषले तिर्ने गरी करिब ७ खर्ब रुपैयाँ सुरक्षण भएको कोषले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ करोड ८३ लाख ३५ हजार ४६८ जना निक्षेपकर्ताको ६ खर्ब ८६ अर्ब १४ करोड निक्षेप सुरक्षण भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले चालु आर्थिक वर्षको यहि अवधिमा कोषले २ करोड ५९ लाख २९ हजार निक्षेप खाताको ६ खर्ब ७१ अर्ब ४५ करोड रुपैयाँ सुरक्षण गरेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको लागि कोषले २ करोड ६२ लाख निक्षेपकर्ताको निक्षेप सुरक्षण गर्ने लक्ष्य निर्धारण गरेको कोषका प्रमख कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रले जानकारी दिए ।
अहिले नै निक्षेप सुरक्षण करिब १३ प्रतिशतले बढी भइसकेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको अन्त्यसम्म कोषल निक्षेप सुरक्षण रकम बढाएर ७ खर्ब ९६ अर्ब पुर्याउने लक्ष्य तय गरेको छ । असार मसान्तसम्म प्राकृतिक व्यक्तिको नाममा रहेको ६ खर्ब ८९ अर्ब ४८ करोड रुपैयाँको निक्षेप सुरक्षण गरिएको थियो ।
‘हामीले ६ महिनाको लागि निर्धारण गरेको पुगिसकेको छ,’ उनले भने ‘हामीले भन्नु पर्दैन तथ्यांक आफै बोल्छ ।’ अबका बाँकी दिनमा अझ बढ्ने उनले बताए । अहिले कोषमा २७ वटा वािणज्य बैंक, २४ वटा विकास बैंक, २१ वटा फाइनान्स कम्पनी र दुई वटा लघुवित्तले निक्षेप सुरक्षण गराइरहेका छन् । ६८ वटा बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको नाममा रहेको बचत, मुद्दती, चल्ती तथा कल खातामा रहेका तीन लाखसम्मको निक्षेप सुरक्षण गरिएको हो ।
‘हामीले व्यक्तिको खातामा रहेको तीन लाखसम्मको निक्षेप सुरक्षण र कर्जा सुरक्षण गरेर चालु आवको पहिलो ६ महिनामा एक अर्ब ४७ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेका छौं,’ उनले थपे ‘यो नाफा सञ्चालन खर्च कटाएर गरिएको नाफा हो । कोषले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्ब २३ अर्ब ६७ करोड कर्जा सुरक्षण गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म जम्मा ६५ अर्ब १० करोड रुपैयाँको मात्रै कर्जा सुरक्षण भएको थियो ।
निक्षेपकर्ताको निक्षेप सुरक्षण गर्ने अनिवार्य व्यवस्था लागू गरिएकाले निक्षेप बढेको मिश्रले जानकारी दिए । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ को दफा १९ मा कोषले प्रत्येक सुरक्षित सदस्य संस्थामा खोलिएका प्रत्येक प्राकृतिक व्यक्तिको निक्षेप खातामा रहेको तीन लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्ने व्यवस्था छ । राष्ट्र बैंकले पछिल्लो समय पाँच लाखसम्म निक्षेप सुरक्षण गर्ने व्यवस्था गरे पनि ऐनमा परिमार्जन नभएकोले हालसम्म तीन लाख रुपैयाँको मात्र निक्षेप सुरक्षण हुन्छ’, मिश्रले भने ।
तर, कुनै पनि निक्षेपकर्ताले एउटै बैंक तथा वित्तीय संस्थामा एकभन्दा बढी निक्षेप खाता सञ्चालन गरेमा वा कुनै संयुक्त निक्षेप खाताको हिस्सा भएमा वा तेस्रो पक्ष लाभकारी निक्षेप खाता भएका सबै खातालाई समावेश गरी एकै खाता सरह मान्यता दिइनेछ । ग्राहकले बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरेको रकम कोषमा सुरक्षण गराएपछि निक्षेपकर्ताले बचत गरेको वित्तीय संस्था डुबेमा प्रतिव्यक्ति प्रति बैंक तीन लाख रुपैयाँका दरले निक्षेप फिर्ता पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
कोषले सर्वसाधारणको बैंक तथा वित्तीय संस्थामा रहेको पुँजी एउटै बैंकमा नराखी ‘क’ वर्गका वाणिज्य बैंकदेखि ‘घ’ वर्गका लघुवित्त बैंकसम्म बचत गर्दा प्रति बैंक प्रति खाता तीन लाखका दरले क्षतिपूर्ति तिर्ने व्यवस्था मिलाएको छ ।
‘सरकारको सबै नेपालीमा बैंकिङ पहुँच पु¥याउने योजनासहित वित्तीय संस्थाले ‘एक घर एक खाता’ योजना सञ्चालन गर्नु, भूकम्पपीडित र वृद्धभत्ता बैंक खाताबाटमात्रै भुक्तानी गर्नुलगायत कारण निक्षेपकर्ता र निक्षेप दुबै वृद्धि भएको हो’, उनले भने, ‘सरकारले सात सय ५३ वटै स्थानीय तहमा बैंकका शाखा पु¥याउन पहल गरेको छ ।’ सोमध्ये ७ सय९स्थानीय तहमा बैंक शाखा विस्तार भइसकेका छन् । गाउँ गाउँमा बैंक पुग्दा पनि खाता खोल्नेको संख्यामा वृद्धि भएको उनले बताए । अहिले बैंकहरू आफैले पनि खाता खोल्नको लागि विभिन्न सेवा सुविधा दिएर विशेष अभियान जारी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस