
काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले नागरिक उड्डयन क्षेत्र समेत लगानी गर्ने भएको छ । लगानीका लागि ठाउँ खोजिरहेको निफ्राले यो क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको हो । यो क्षेत्रमा लगानी गर्नसक्ने ठाउँबारे बैंकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल सुरु गरेको छ ।
निफ्राको टोलीले यो क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा अघिल्लो साता मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत भुपेन्द्य्र पाण्डे बताउँछन् ।
‘लगानीको नयाँ नयाँ क्षेत्र खोज्ने क्रममा हामी यो क्षेत्रमा लगानी गर्ने ठाउँ कहाँकहाँ छ भनेर क्यानसँग छलफल प्रारम्भिक छलफल गरेका छौं । क्यानले यसमा सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरेको छ,’ पाण्डेले भने, ‘हामी प्रारम्भिक छलफलमै छौं । तर यो क्षेत्र हाम्रो लगानीको प्राथमिकतामा चाहिँ छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजुकमार क्षेत्री नागरिक उड्डयनको क्षेत्रमा बैंकले लगानीको इच्छा देखाउनु प्रशंसनीय रहेको भन्दै आफूहरुले लगानीका लागि सहज वातावरण निर्माण गर्न भूमिका खेल्ने बताए । ‘उहाँहरु कसरी लगानी गर्न सकिन्छ, हामी यो क्षेत्रमा लगानी गर्छौं भनेर छलफल गर्न आउनुभएको थियो । हामीले लगानी गर्ने क्षेत्रबारे जानकारी दियौं,’ क्षेत्रीले भने, ‘आवश्यकता अनुसार सहजीकरण गर्न पनि तयार छौं ।’
कहाँ कहाँ गर्न सकिन्छ लगानी ?
नागरिक उड्डयन क्षेत्र अन्तर्गत विभिन्न विमानस्थलको निर्माण एवं सञ्चालन तथा एयरलाइन्स कम्पनीको सञ्चालनमा अहिले लगानी गर्ने सम्भावना छ । तर, विमानस्थल निर्माणमा अहिले नै निजी क्षेत्रले सहभागिता जनाउन पाउँदैन । अहिले देशभरको विमानस्थलको निर्माण र सञ्चालनको अधिकार प्राधिकरणलाई मात्रै छ ।
अहिले संघीय संसदमा नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण स्थापनासम्बन्धी विधेयक विचाराधिन अवस्थामा छ । यो विधेयक पारित भएपछि भने विमानस्थलमा निजी क्षेत्रको सहभागिता खुला हुनेछ । एयरलाइन्स कम्पनीको सञ्चालन गर्न भने अहिले निजी क्षेत्रलाई अहिले पनि खुला नै छ । लगानीका यीनै सम्भावनाबारे छलफल भएको क्यानका प्रवक्ता क्षेत्री बताउँछन् ।
स्थापना भएको ३ वर्ष भइसकेको र सर्वसाधारणमा आईपीओ समेत जारी भइसकेको निफ्रालाई अब लगानस्कर्ताको उचित प्रतिफलका लागि प्रतिस्पर्धात्मक क्षेत्रमा लगानी बणउने दबाब छ । पछिल्लो समय निफ्राले लगानीका बहुआयामिक क्षेत्रको अध्ययन र छलफल अघि बढाइरहेको डेपुटी प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाई छ ।
प्रतिक्रिया दिनुहोस