
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेको हो । सम्झौता पछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।
सो सम्झौता पश्चात ग्राहकले नेपालभर कुनै पनि ठाउँबाट खल्ती मार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने जनाएको छ ।
उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका निर्देशक अमित अग्रवालले भनेः “हामी प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब प्रिमियर इन्स्योरेन्सका ग्राहकहरुले आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स अफिस वा बैंक धाइराख्नु पर्दैन ।
उहाँहरुले आफ्नो मोबाईलमा खल्ती एप इन्स्टल गरी सजिलै बीमा शुल्क भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।”
प्रतिक्रिया दिनुहोस