
काठमाडौं । निक्षेप भन्दा कर्जाको माग बढी हुन थालेपछि ब्याजदर बढ्न थालेको छ । वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंक तथा वित्तीय संस्थाले व्याजदर बढाएका हुन् ।
शुक्रबारसम्म ४ वटा वाणिज्य बैंकले चैत मसान्तदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । एभरेष्ट बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले यस्तो ब्याजदर सार्वजनिक गरेका हुन् ।
अहिलेसम्म ब्याजदर सार्वजनिक गरेका ती बैंकले छोटो अवधिको मुद्दती निक्षेपको ब्याजदर बढाउने रणनीति लिएका छन् । लामो अवधिको मुद्दती निक्षेपको ब्याजदर भने अहिले स्थिर छ । त्यस्तै बचत खाताको ब्याजदर पनि स्थिर देखिएको छ ।
फागुनसम्म ५.५० प्रतिशत रहेको ६ महिने निक्षेपको ब्याजदर एभरेष्ट बैंकले ६.२५ प्रतिशत पुर्याएको छ । एभरेष्ट बैंकले ६ महिनाभन्दा कम अवधिको निक्षेपमा ०.२५ प्रतिशत बढाएर ४.७५ प्रतिशत पुर्याएको छ । त्यस्तै १ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपको ब्याज पनि ०.२५ प्रतिशत बढाएर ६.७५ प्रतिशत पुर्याएको छ ।
हिमालयन बैंकले पनि ६ महिने निक्षेपमा १ प्रतिशत बढाएर ६ प्रतिशत पुर्याएको छ । सोभन्दा कम वा बढी अवधिको मुद्दति खाताको ब्याजदर भने स्थिर राखिएको छ । अहिले हिमालयनले ३ महिने व्यक्तिगत मुद्दति खाताको ब्याजदर ४ प्रतिशत, ९ महिनेका ६.५ प्रतिशत र १ वर्ष भन्दा बढीको ७ प्रतिशत ब्याजदर तोकेको छ । बचत खातामा भने हिमालयनले पनि २ देखि ४ प्रतिशत ब्याज दिने व्यवस्था गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने चैत महिनाका लागि ब्याज बढाएको छैन । सो बैंकले बचतको ब्याजदर २ देखि ४ प्रतिशत दिँदै आएको छ । मुद्दति खाताको ब्याजदर भने ३ महिनाको लागि ४.५ प्रतिशत, ३ महिनादेखि १ वर्ष भन्दा कमका लागि ५ प्रतिशत र १ वर्ष वा सोभन्दा बढीका लागि ६ प्रतिशत ब्याजदर तोकेको छ ।
कुमारी बैंकले पनि बचतको ब्याजदर स्थिर राखेर मुद्दतिको ब्याजदर बढाएको छ । कुमारीले बचत खाताको ब्याजदर २ देखि ४ प्रतिशत ब्याजदर तोकेको छ । मुद्दति खातामा भने ३ महिनादेखि १ वर्ष भन्दा कम मुद्दतिमा १.५ प्रतिशत बढाएर ५.५ प्रतिशत पुर्याएको छ । १ वर्षदेखि २ वर्षसम्मको मुद्दति निक्षेपको ब्याजदर ०.७५ प्रतिशत बढाएर ६.७५ प्रतिशत पुर्याइएको छ । २ वर्ष भन्दा बढी निक्षेपको ब्याजदर भने ७ प्रतिशतमा स्थिर राखिएको छ ।
प्रतिक्रिया दिनुहोस