aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बाउन्स चेकको पनि स्रोत चाहियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
बाउन्स चेकको पनि स्रोत चाहियो

काठमाडौं । प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको स्रोत खोज्न थालेपछि जाहेरी दिनेको संख्या ५० प्रतिशतले घटेको छ । वास्तविक पीडितभन्दा स्वार्थकेन्द्रित धन्दामा लागेकाको उजुरी धेरै पर्न थालेपछि केही सातादेखि चेकमा उल्लेखित रकमको स्रोत खोज्न सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको तीन साताअघिको तथ्यांक हेर्दा प्रत्येक दिन ६० देखि ८० को संख्यामा चेक बाउन्सका उजुरी पर्थे । पछिल्लो तथ्यांक हेर्दा उजुरी गर्नेको संख्या २० देखि २५ मा झरेको छ ।

परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले चेक बाउन्सका उजुरी ह्वात्तै घटेको बताए । उनले भने, ‘चेक बाउन्सका उजुरी एकाएक घटेका छन् । सम्पत्तिको स्रोत खोज्न लागिएपछि उजुरी घटेको हामीले पाएका छौँ । यसले वास्तविक पीडितभन्दा पनि स्वार्थकेन्द्रित धन्दामा लागेकाहरू ज्यादा रहेको देखाउँछ । यसलाई निरुत्साहित गर्नुपर्छ ।’

साउनयता पाँच हजार उजुरीः
प्रहरीका अनुसार गत साउनयता परिसरमा मात्रै चेक बाउन्समा दुई हजार चार सय ४८ उजुरी परेका छन् । मातहतका १४ वृतमा दुई हजार पाँच सयभन्दा धेरै उजुरी परेका छन् । दर्ता भएका उजुरीमा उल्लेखित रकम ४० हजारदेखि तीन करोड ५० लाख रुपैयाँसम्मका छन् । परिसर मातहत बैंकिङ कसुर मुद्दा अनुसन्धानमा संलग्न डिएसपी सेटीले उजुरीमा उल्लेखित रकमको परिणाम ठूलो रहेको बताए ।

उनले भने, ‘चेक बाउन्सका मुद्दा बढेका छन् । प्रत्येक दिन ६० देखि ६५ वटा बाउन्सका उजुरी आउँछन् । उजुरीमा उल्लेखित रकम सरदर एक करोड रुपैयाँको हुन्छ । अब यसको स्रोत खोजिनेछ । स्रोत नखुलेकाहरूलाई सम्पत्ति शुद्धीकरण मुद्दाअन्तर्गत कारबाही अघि बढाइनेछ ।’

बाउन्सका उजुरी गर्ने अधिकांश मिटर ब्याजीः
प्रहरीका अनुसार अधिकांश मिटर ब्याजी र जग्गा व्यापारीले चेक बाउन्सका मुद्दा हाल्ने गरेका थिए । अनुसन्धानमा प्रहरीको झन्डै ६० प्रतिशत शक्ति खर्च हुन थालेपछि प्रहरीले सम्पत्तिको स्रोत खोज्न थालेको हो ।  

मुद्दा अनुसन्धानमा संलग्न परिसरका डिएसपी विष्णु सोतीले भने, ‘चेक बाउन्सका उजुरी गर्ने अधिकांश मिटर ब्याजी रहेको पाइयो । जग्गा कारोबारमा संलग्न हुनेहरूको पनि उजुरी परेको देखियो । यतिसम्म कि रोजगारदाताले कर्मचारी भाग्छ भनेर पहिले नै चेक काटेर डिपोजिट राखेको भेटियो । प्रहरी संगठन यस्ता मुद्दा अनुसन्धान गर्नका लागि होइन । त्यसैले, हामीले सम्पत्तिको स्रोत खोज्ने नियम बनाएका हौँ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस