
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख ३ गतेका लागि १२ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले होटल अरनिको धलिखेल, काभ्रेमा विहान ११ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्दै प्रस्तावित ८ दशमलव ५६ प्रतिशत लाभांश प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले यस वर्ष ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरेको यस कम्पनीले नयाँ नेपाल लघुवित्तको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो । मर्जर पश्चात हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड ५३ लाख ८६ हजार रहेको छ । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापकबाट ४ जनार सर्वसाधारणबाट २ जना सञ्चालकको निर्वाचत समेत गर्नेछ ।
कम्पनीले सर्वसाधारणका लागि एफपीओ जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । एफपीओ र बोनस शेयरपश्चात कम्पनीको पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि चैत १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने कम्पनीको तयारी छ । बुक क्लोजको आधारमा चैत १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस