
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट बैंक मार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालितको अनुदान सहयोग कार्यक्रम रकम हस्तान्तरण गरेको छ । बैंकले सुजल डेरी प्रालिलाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैंया, गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय रुपैंया रकम हस्तान्तरण गरेको छ ।
मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरूले यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहकाबीच हस्तान्तरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरूलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । हालसम्म १९ वटा उद्योगहरूलाई ६ करोड ९४ लाख रुपैंयाँ भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए । नेपाल सरकार र जर्मन सरकारबचि सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले आयोजना कार्यान्वयनको लागि रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।
यस आयोजना अन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।
यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, प्रबन्धक रामजी भण्डारी, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरू क्रमशः हेमेन शाक्य, सरोज न्यौपाने लगायत कर्मचारीहरूकोे उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस