
काठमाडौं । चैत १३ गते शुक्रवार नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकले वार्षिक साधारण सभा आयोजना गर्दैछन् । नेपाल दुरसञ्चार कम्पनीले १३ औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित ४० प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।
साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम पनि सभाका लागि तय भएको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन लाई सभाले अनुमोदन गर्नेछ । कम्पनीले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भैसकेका छन् । उक्त निर्वाचनलाई सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि नेपाल दुरसञ्चार कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।
त्यस्तै महालक्ष्मी विकास बैंकले १९औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान १० बजे सभा सुरु हुनेछ । महालक्ष्मी विकास बैंकको सभा भर्चुअल माध्यमबाट हुने भएकाले शेयरधनीहरुलाई सोही बमोजिम उपस्थित हुने कम्पनीले आग्रह गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै लाभांश प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले यस वर्ष ८ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै हाल कायम रहेको संस्थापकतर्फको ५२ दशमलव ४९ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४७ दशमलव ५१ प्रतिशतले ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय पनि सभाले गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७ करोड २० लाख ६१ हजार चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि चैत ३ गते देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस