aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

साधारण सभाका लागि कालिका लघुवित्तले चैत २२ गतेदेखि बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ चैत्र २०७७
साधारण सभाका लागि कालिका लघुवित्तले चैत २२ गतेदेखि बुक क्लोज गर्ने

 काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख ७ गतेका लागि तय गरेको संयुक्त वार्षिक साधारण सभाका लागि चैत २२ गतेदेखि सभाहुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले होटल टास्क इन्टरनेशनलको सभाहल, पोखरामा विहान ८ बजे विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो । बुक क्लोजको आधारमा चैत १९ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

सभाले आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित १० प्रतिशत बोनस शेयर पनि पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड २३ लाख ३० हजार रहेको छ । सोही पूँजीको आधारमा बोनस शेयर वितरण गर्न लागेको हो । 

गत वष १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश दिन लागेको हो । सभाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि पारित गर्नेछ । सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचनलाई पनि सभाले अनुमोदन गर्ने कार्यक्रम छ ।

कम्पनीको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका वडा नं.–१० बुद्धचोकमा रहने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र संस्थाको पूँजी संरचना संस्थापकतर्फ ५४ दशमलव ५२ प्रतिशत र सर्वसाधारणतर्फ ४५ दशमलव ४८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । हाल कम्पनीको पूँजी संरचना संस्थापकतर्फ ६४ दशमलव ५२ प्रतिशत र सर्वसाधारण तर्फ ३५ दशमलव ४८ प्रतिशत रहेको छ ।

सभाले कम्पनी अन्य कुनै उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रयोजनमा जाने भएमा सो सम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस