aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कुल बजारपूँजीकरणमा वाणिज्य बैंकको हिस्सा ३८.३९ प्रतिशत, नबिल बैंक सबैभन्दा अगाडी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ चैत्र २०७७
कुल बजारपूँजीकरणमा वाणिज्य बैंकको हिस्सा ३८.३९ प्रतिशत, नबिल बैंक सबैभन्दा अगाडी

काठमाडौं । नेपालको धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको कुल शेयरको मूल्य अर्थात कुल बजार पूँजीकरण रकम रू. ३५ खर्ब २० अर्ब २२ करोड ७० लाख ५४ हजार रहेको छ । चैत १३ गतेसम्मको तथ्याङ्कको आधारमा उक्त मूल्य गणना गरिएको हो ।

 धितोपत्र दोस्रो बजारमा म्युचुअल फण्ड सहित १३ समूहमा कम्पनीहरु सूचीकृत रहेका छन् । हाल धितोपत्र बजारमा यी समूहका २१० कम्पनी सूूचीकृत भएका हुन । गत शुक्रवार मात्र दुई नयाँ कम्पनीहरु ज्योती लाईफ र सन्राइज ब्लुचिप फण्डको इकाई बाँडफाँट भएको छ । यी दुई कम्पनी पनि चाडैनै दोस्रो बजारमा सूचीकृत हुनेछन् । 

१३ समूहमध्य धितोपत्र दोस्रो बजारमा वाणिज्य बैंकहरुको सर्वाधिक हिस्सा रहेको छ । २७ वाणिज्य बैंकहरु सञ्चालनमा रहेको भएपनि हालसम्म राष्ट्रिय वाणिज्य बैंकले साधारण शेयर जारी गरेको छैन् । सूचीकृत २६ वाणिज्य बैंकहरुको पछिल्लो अन्तिम कारोबार दिन चैत १३ गतेसम्मको कुल शेयरको मूल्य अर्थात कुल बजार पूँजीकरण रू. १३ खर्ब ५१ अर्ब ३७ करोड ९ लाख ४२ हजार रहेको छ । यी बैंकहरुको धितोपत्र दोस्रो बजारमा २ अर्ब ८८ करोड ७ लाख ९१ हजार ८६२ कित्ता शेयर सूचीकृत रहेको छ । बैंकहरुको कुल शेयर मूल्यको आधारमा कुल बजार पूँजीकरणमा  ३८ दशमलव ३९ प्रतिशत हिस्सा रहेको देखिन्छ । 

२६ वाणिज्य बैंकहरुमध्य कुल बजार पूँजीकरण नबिल बैंकको सबैभन्दा बढी छ । बैंकको कुल शेयरको मूल्य अर्थात कुल बजार पूँजीकरण रू. १ खर्ब ६५ अर्ब ४० करोड १५ लाख ४३ हजार रहेको छ । वाणिज्य बैंकहरुमध्य सर्वाधिक बजारमूल्य भएको यस बैंकको चैत १३ गते अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २२७ रहेको छ । नबिल बैंकको दोस्रो बजारमा १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत रहेको छ । नबिल बैंकले शेयरधनीहरुका लागि आकर्षक लाभांश दिदैं आएकाले पनि यस बैंकको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी रहेको हो । 

यस वर्ष पनि बैंकले वाणिज्य बैंकहरुमध्य सबैभन्दा बढी ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको छ । यस बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १ दशमलव ७६ प्रतिशत नगद लाभांश दिएको हो । विगतका वर्षहरुमा पनि नबिल बैंकले अन्य वाणिज्य बैंकहरुको तुलनामा आकर्षक लाभांश वितरण गर्दै आएको छ । विगतको इतिहासमा हेर्दा यस बैंकले दुई आर्थिक वर्ष ०६९÷७० र ०७०÷७१ मा ६५ प्रतिशतका दरले लाभांश वितरण गरेको थियो ।

नबिल बैंक पछि कुल बजार पूँजीकरण रकम एनआईसी एशिया बैंकको बढी रहेको छ । एनआईसी एशिया बैंकको दोस्रो बजारमा १२ करोड ५६ लाख ४० हजार ५६ कित्ता शेयर सूचीकृत रहेको छ । पछिल्लो कारोबार दिन चैत १३ गते एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ८७२ कायम भएको छ । यो दिन बैंकको कुल बजार पूँजीकरण रकम रू. १ खर्ब ८३ करोड ८१ लाख २८ हजार कायम भएको छ ।

वाणिज्य बैंकहरुमध्य दोस्रो बजारमा ग्लोबल आइएमई बैंकको सबैभन्दा बढी कित्ता र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा कम कित्ता शेयर सूचीकृत रहेको छ । ग्लोबल आइएमई बैंकको २१ करोड ६३ लाख २५ हजार ३१ कित्ता र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८ करोड ५७ लाख २२ हजार ३०४ कित्ता शेयर सूचीकृत रहेको हो । चैत १३ गतेसम्म ग्लोबल आइएमई बैंकको अन्तिम शेयरमूल्य रू. ४२८ रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता अन्तिम शेयरमूल्य रू. ५९६ रहेको छ । ग्लोबल आइएमई बैंकको कुल बजार पूँजीकरण रू. ९२ अर्ब ५८ करोड ७१ लाख १३ हजार र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कुल बजार पूँजीकरण रू. ५१ अर्ब ९ करोड ४ लाख ९३ हजार रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस