
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको ८ दशमलव ८५ प्रतिशत लाभांश चैत १७ गते (मंगलवार) सम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् । कम्पनीले गत असार मसान्तसम्म कायम चुक्तापूँजी रू. २ करोड ३३ लाख १५ हजारको आधारमा यस वर्ष उक्त बोनस शेयर वितरण गर्न लागेको हो ।
बोनस शेयर प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्न चैत १० गते पाँचौ वार्षिक साधारण सभा बोलाएको कम्पनीले चैत १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
यस कम्पनीले बिपिडब्लु लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धी सहमति पत्रलाई पनि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । यी कम्पनीहरुलाई प्राप्ती गर्न गरिएको शेयर आदानप्रदान अनुपातलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ । दुबै कम्पनीलाई १००ः९५ः९५ को अनुपातमा आरम्भ चौतारीले प्राप्ती गर्न लागेको हो ।
हाल कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ६३ दशमलव ६५ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव ३५ प्रतिशत रहेकाले दुबै कम्पनीलाई प्राप्ती पश्चात संस्थापकतर्फ ६८ दशमलव ३० प्रतिशत र सर्वसाधारण तर्फ ३१ दशमलव ७० प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाको लागि तय भएको छ । यी दुई कम्पनीलाई प्राप्ती गर्ने प्रकृयाका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै, सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस