aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

निक्षेप घटाउँदै कर्जा बढाउँदै बैंक, ७ दिनमै २७ अर्ब लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ चैत्र २०७७
निक्षेप घटाउँदै कर्जा बढाउँदै बैंक, ७ दिनमै २७ अर्ब लगानी

काठमाडौं । कोभिडका कारण अर्थतन्त्र चलायमान हुन थालेपछि बैकिङ क्षेत्रले आफ्नो लगानी विस्तार गर्दै लगेका छन् । पछिल्लो कोरोना कारण प्रभावित भएको अर्थतन्त्र चलायमान हुन थालेसँगै बैंकहरूमा कर्जाको माग बढ्न थालेको हो । वस्तुको आयात, शेयर बजार एवम् घरजग्गाको कारोबामा भएको वृद्धिले बैंकहरूमा कर्जाको माग बढेको हो ।

बैंकहरुमा निक्षेपमा राख्न न्यून प्रतिफल आउने भएपछि निक्षेपकर्ताले अधिक प्रतिफलको खोजीमा शेयर बजार र घरजग्गा तर्फ पैसा लगाउन थालेका हुन् । देशमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले चैत ६ गतदेखि १३ गतेसम्मको अवधिमा २७ अर्ब कर्जा प्रवाह गरेका हुन् । बैंकहरूले यो अवधिमा जम्मा १० अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका छन् ।  घट्दो निक्षेप र बढ्दो लगानीले बजारलाई कतिबेला प्रभाव पार्छ त्यो भने हेर्न बाँकी नै छ । सम्भवतः यो आर्थिक वर्षसम्म लगानीका लागि बैंकहरूलाई त्यति अप्ठ्यारो नपर्ने बताइएको छ । 

पछिल्लो समय वाणिज्य बैंकहरूले दैनिक करिब करिब ४ अर्बका दरले कर्जा विस्तार गरेका हुन् । चैत ६ गतदेखि १३ गतेसम्मको यो अवधिमा बैंकहरूले जम्मा २३ अर्ब कर्जा लगानी गरेका थिए । अघिल्लो साता र गएको सातालाई तुलना गर्दा बैंकहरूको लगानी यो साता अझ बढेको छ । फागुन अन्तिमसाता २४ अर्ब कर्जा प्रवाह गरेको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ । चैत १३ गतेसम्म वाणिज्य बैकहरूको कुल कर्जा लगानी बढेर ३४ खर्ब ६२ अर्ब पुगेको छ भने निक्षेप ३८ खर्ब ५० अर्ब पुगेको छ । 

पछिल्लो समय घरजग्गा तथा शेयर बजारको कारोबार बढेको छ । कर्जा प्रवाह तुलनामा निक्षेप संकलनको ट्रेन हेर्ने हो भने अत्यन्त न्यून छ । फागुन ७ गतेदेखि चैत १३गतेसम्मको यो अवधिमा जम्मा ५१ अर्ब रुपैयाँलेमात्रै निक्षेप बढेको हो ।  फागुन ७ गतेदेखि २१ गतेसम्मको यो अवधिमा बैंकहरूले २४  अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका हुन् ।

प्रवाहको रेसियो निक्षेप संकलन अत्यन्त न्यून देखिएको छ । बैंकहरूले निक्षेपको ब्याजदर कम दिएसँगै निक्षेपमा लगानीकर्ताहरूको आकर्षण बढ्न सकेको छैन । पछिल्लो समय विकास निर्माणको कामले गतिलिने क्रम बढ्दो छ । सरकारी खर्च भयो भने बैंकमा पैसा आउने बैकर्सहरूको भनाइ छ । 

ब्याज कम भएकै कारणले माघदेखि फागुन यो अवधिसम्म निक्षेप संकलनको ट्रेन हेर्ने हो भने यसमा खासै उत्साह देखिदैन । बैंकहरूले प्रदान गर्ने न्यून ब्याजका कारण आम निक्षेपकर्ताहरू बैंकमा पैसा राख्न उत्साहित भएका देखिदैनन् । निक्षेप घट्नुको प्रमुख कारण बैंकहरूले दिने न्यून ब्याजदर नै हो । यसका साथै कतिपयको कोभिडका कारण आयस्रोत घटेको र खर्च बढेका कारणले पनि बचत कम हुँदा निक्षेप घटेको अनुमान गरेका छन् । 

हुन त मंसिरदेखि नै कर्जाको माघ बढ्दै गएको थियो । यसले अझ तिव्रता पाएको हो । कोरोनाका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकहरूमा पैसा थुप्रिएको थियो । बैंकिङ प्रणालीमा निक्षेप थपिरहने तर कर्जा प्रवाह नहुँदा बैंकहरूमा अधिक तरलता थियो । पछिल्लो समय यो घट्दो क्रममा छ । यसरी नै कर्जा प्रवाह बढिरहने हो भने अबको केही समयमा नै क्रेडिट क्रन्चको समस्या देखिने बैंकरहरूको भनाइ छ । 

केही दिन अघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले पनि नेपालीको बचत क्षमता घटेको देखाएको छ । खर्च गर्ने प्रवृत्ति बढेका कारण औसतमा खर्च बढेको र बचत घटेको हो । कुल राष्ट्रिय बचतमा घटेर ८.९ प्रतिशतमात्रै रहेको छ । यो तथ्यांक नयाँ आधार वर्षको आधारमा निकालिएको तथ्यांक हो । सन् २०००/०१ को आधार वर्षमा कुल राष्ट्रिय बचत १८.१ प्रतिशत थियो । खर्च बढ्नुको प्रमुख कारण नेपालीको क्रय शक्ति क्षमतामा पनि वृद्धि हुनु हो । प्रति नेपालीको क्रयशक्ति क्षमता बढेर अहिले १४ सय ३० अमेरिकी डलर पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस