काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको २० प्रतिशत शेयर किन्न आफ्ना संस्थापक शेयरधनीलाई आग्रह गरेको छ । हिमालयन बैक नेपाल इन्भेष्टमेन्ट बैंकमा मर्जर प्रक्रियामा अघि बढेपछि हबिबले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागेको हो । हबिबले प्रतिकित्ता शेयर २८२ रुपैयाँ ५० पैसाका दरले किन्नका लागि आफ्ना संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको हो ।
हिमालयन बैंकमा हबिबको २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता सेयर स्वामित्व छ । सो मूल्यमा शेयर बिक्री गर्दा हबिबले ६ अर्ब भन्दा बढी रुपैयाँ पाउने छ । बैंकले यही चैत १२ गते आफ्ना संस्थापक सेयरधनीलाई उक्त सेयर किन्न आग्रह गरेको हो ।
संस्थापक लगानीकर्ताले २ महिनाभित्र उक्त शेयर खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । संस्थापकहरूले किनेर बाँकी रहेको शेयर कर्मचारी सञ्चय कोषले किन्ने सहमति भएको छ । एक अर्ब रुपैयाँ बराबरको शेयर संस्थापकहरूले किन्ने र बाँकी ५ अर्ब सञ्चय कोषले किन्नु पर्ने अवस्था आउन सक्ने बैंक संस्थापकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस