काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको । सहकारीको दिवसको उपलक्ष्यमा आयोजना गरेको रक्तदान कार्यक्रम भक्तपुर रेडक्रस सोसाइटीको संयोजनमा भएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको संयोजनमा ब्लड डोनर्स एसोसिएशन, नेपाल९ब्लोदान० र काठमाण्डौ जिल्ला बचतऋण सहकारी संघ (कास्कुन( रहेका थिए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै कास्कुनका अध्यक्ष दिपक पनेरुले मानवीय जीवन रक्षाका लागि अति आवश्यक पर्ने रगत जस्तो महान दान गर्न सबै सहकारीकर्मीहरु लाग्नु पर्ने बताए ।
हरेक संस्थाले वर्षमा एक पटक रक्तदान गर्दै आएको भएपनि रक्तदानमा सहकारी अभियानको सामुहिक योगदानलाई बढावा दिन ६२औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बुधबारे रक्तदान कार्यक्रम शुरुवात गरिएको समेत उनले स्मरण गरे ।
एक वर्ष नियमित रुपमा चलेको उक्त बुधबारे रक्तदान कार्यक्रम कोरोना भाइरस महामारीका कारण बीचमा नियमित हुन नसकेको उनले प्रष्ट पारे । कास्कुनले ब्लोदानसँग जोडिएर आजबाट पुनः यो अभियानलाई निरन्तरता दिन शुरु गरिएको उनले बताए । कास्कुनले ब्लोदानसँग समन्वय गरेर आम संस्था र सदस्यहरुलाई रक्तदानको आवश्यकता, महत्व, फाइदा र उद्देश्यका बारेमा बुझाउने समेत योजना रहेको पनेरुले उल्लेख गरे । कास्कुन, ब्लोदान र आयोजक संस्थाको समेत पहिचान झल्किने गरी साप्ताहिक रक्तदान कार्यक्रम गरिने भएको छ ।
समुदायमा काम गर्ने संस्था भएकाले बचतऋणका साथसाथै यस्ता सामाजिक क्रियाकलापहरु समेत गर्दै जाँदा सहकारीको महत्व अझ बढ्ने उनको विश्वास छ । रक्तदानको विषयलाई नाफाघाटासँग जोड्न नमिल्ने भन्दै उनले मानवीय सेवा भित्रको प्रमुख जिम्मेवारी रक्तदान भएको बताए । अन्य वस्तु जस्तै बजारमा खरिद गर्न नमिल्ने र रगतको श्रोत नै व्यक्ति भएकाले आम सहकारीकर्मी र संस्थाहरुलाई वार्षिक कार्ययोजना नै बनाएर रक्तदानमा जोडिन उनले आग्रह गरे ।
कार्यक्रमको विशिष्ट अतिथिका रुपमा ब्लोदानका सचिव उज्जवल केसी र अतिथिहरुमा कास्कुनका सञ्चालक विरेन्द्र भण्डारी, ब्लोदान काठमाण्डौका कोषाध्यक्ष तिलक बहादुर अधिकारी र ५० पटक सम्म रक्तदान गरेका रामहरि रञ्जित रहेका थिए ।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष भोला नाथ पाठकले पाँच तारा सहकारीले २०६६ सालदेखि निरन्तर रक्तदान गर्दै आएको र अहिलेसम्म १० पटक पुगेको जनाए । संस्थाले कोभिड १९ महामारीको बीचमा पनि रक्तदानलाई निरन्तरता दिन सकेकोमा उनले खुसी व्यक्त गरे ।
अन्य संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रममा संस्थाका सदस्य र कर्मचारी सहभागी हुँदै आएको र आकस्मिक रक्तदानहरुमा पनि आफुहरुले सक्रिय सहभागिता जनाएको उनले बताए ।
कास्कुनसँग जोडिएर रक्तदान कार्यक्रमलाई काठमाण्डौ जिल्लाभर सञ्चालन गर्ने काममा समेत पाँच ताराले पहल गर्न सकेको उनको भनाई थियो । ६२औं सहकारी दिवसको अवसर पारेर कास्कुन र ब्लोदानबीचको सहकार्यमा अघि बढाइएको र पाँचताराबाट शुरु गरिएको बुधबारे रक्तदानले रगत अभावलाई केहि मात्रामा भएपनि कम गर्न सहयोग पुगेको उनले जनाए । कोभिडका कारणले रोकिएको उक्त अभियानलाई आजबाट पुनः शुरु गरिएको र सम्भव भए हरेक दिन र नभए सातामा एकपटक रक्तदान कार्यक्रम आयोजना गरेर अगाडि बढ्ने समझदारी भएको छ ।
ब्लोदान केन्द्रिय सदस्यको हैसियतले पाठकले यो अभियानको संयोजन गर्दै आएका छन् । रक्तदानमा पाठक आफुमात्र लागेका छैनन्, उनले परिवारलाई नै जोडेर लगेका छन् । आजको रक्तदानमा अध्यक्ष पाठक सहित पत्नी राधा, दुई छोराहरु सागर र सम्राटले संयुक्त रुपमा रक्तदान गरे । युवा पुस्तालाई समेत रक्तदानमा अभिप्रेरित गर्न परिवारलाई नै रक्तदान जस्तो पुण्यकार्यमा जोडेको पाठक बताउँछन् ।
संस्थाले रक्तदाताहरुलाई प्रमाणपत्रका साथै नियमित पाँचपटक रक्तदान गर्ने रक्तदातालाई चाँदीको सिक्का दिँदै आएको छ भने १० पटकभन्दा बढि रक्तदान गर्नेलाई विशेष सम्मान गर्ने योजना बनाएको छ । रक्तदान गर्नेहरुप्रति संस्थाले आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ ।
कोभिड १९ का कारण संघसंस्थाहरुले खुल्ला रुपमा रक्तदान गर्न नसक्दा रगतको अभाव भइरहेको अवस्थामा दिवसका अवसर पारेर सहकारी अभियानबाट गरिएको रक्तदानले अभावलाई न्यून गर्न टेवा पुग्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस