
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म आम नागरिकले ३ करोड ६२ लाख ७४ हजार निक्षेप तथा कर्जा खाता खोलेका छन् । १ वर्षको अवधिमा ३६ लाख ६० हजार १८० जनाले निक्षेप तथा कर्जा खाता खोल्ने खपिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ३ करोड ४६ लाख ७१ हजार ९४९ जनाले निक्षेप खाता खोलेका छन् भने १६ लाख २ हजारले कर्जा खाता खोलेको छन् ।
गत आर्थिक वर्षको फागुनसम्म २ करोड ९६ लाख १३ हजार ७२७ वटा निक्षेप तथा कर्जा खाता खोलिएको थियो । सो खातामध्ये ३ करोड ११ लाख १२ हजारले निक्षेप खाता खोलेका थिए भने १४ लाख ९८ हजार ४६७ ले कर्जा खाता खोलेका छन् । पछिल्लो समय वित्तीय साक्षरता बढ्दै गएको र गाउँ गाउँसम्म बैंक पुगेकाले पनि खाता खोल्नेको संख्या बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले आम नागरिकमा वित्तीय पहुँच विस्तार पुर्याउन घरदैलो कार्यक्रमदेखि विभिन्न स्कीम समेत ल्याएका छन् । सो कारणले पनि खाता खोल्नेको संख्या बढेको राष्ट्र बैंकको भनाइ छ । हाल खोलएको निषेप खाता नेपालको कुल जनसंख्याभन्दा ४३ लाख ७६ हजार ८९१ ले बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार आज आइतबार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ९५ हजार ५८ जना रहेको छ ।
यद्यपि जनसंख्याभन्दा धेरै बैंक खाता भए भन्दैमा सबै नेपालीसमक्ष बैंक खाता पुग्यो भन्ने हुँदैन । एउटा व्यक्तिले बैंक तथा वित्तीय संस्थानै पिच्छे खाता खोल्न पाउने व्यवस्था छ । त्यसैले पनि जनसंख्याभन्दा बैंक खाता बढी भएको बताइएको छ ।
नेपालीको खाता नामक कार्यक्रम सञ्चालन भएको, वित्तीय साक्षरता बढेकोलगायत कारण धेरै बैंक खाता खुलेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले बताए । ‘पछिल्लो समय वित्तीय पहुँचको विस्तार राम्रो हुँदै गएको छ, प्रायः सबै कार्यालयमा बैंकमार्फत तलब भुक्तानी दिन थालिएको छ,’ उनले भने, ‘डिजिटल बैंकिङ कारोबार बढ्दो छ ।’ यसकारण पनि बैंकमा निक्षेप खाता संख्या बढेको उनको ठम्याइ छ ।
नेपालको जनसंख्याभन्दा निक्षेप खाताको संख्या बढी देखिएपनि कुल जनसंख्याको करिब ६१ प्रतिशतमात्रै बैंक खाता पुगेको राष्ट्र बैंकले १ वर्षअघि गरेको एक अध्ययनले देखाएको छ । ‘नेपालमा वित्तीय पहुँचको स्थिति’ सम्बन्धी राष्ट्र बैंकको उक्त अध्ययन गत आर्थिक वर्ष सार्वजनिक भएको थियो ।
लामो समयसम्म विभिन्न अध्ययनले ४० प्रतिशत नागरिकमा मात्र वित्तीय पहुँच पुगेको निष्कर्ष निकालिरहेका बेला राष्ट्र बैंककै अध्ययनले ६०.९ प्रतिशतमा पुगेको देखाएको थियो । यसको अर्थ नेपालमा वित्तीय पहुँच तीव्र रूपमा बढ्दै गएको छ । यो वर्षको यो अवधिसम्म यो भन्दा माथि खाता खोल्नेको पहुँच विस्तार भइसकेको अनुमान राष्ट्र बैंकले गरेको छ ।
पहुँच मापन गर्ने विभिन्न आधारमध्ये बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता भएको जनसंख्यालाई वित्तीय पहुँचको एउटा मानकका रूपमा लिएको थियो । यसका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई विश्लेषण गरी एक व्यक्तिको एकभन्दा बढी रहेका खाता हटाएर एक व्यक्ति एक खाता मात्र अध्ययनमा समावेश गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस