aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अलमलमा, कहाँ अल्झियो गाँठो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ चैत्र २०७७
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अलमलमा, कहाँ अल्झियो गाँठो ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया केही समय लम्बिने भएको छ । चैत दोस्रो साता नै मर्जर प्रक्रिया अघि बढाउने भनिए पनि हिमालयन बैकको बोर्ड बैठक बस्न नसक्दा मर्जर प्रक्रियामा जान समय लाग्ने देखिएको हो । हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम विरामी भएर बैठकमा उपस्थित हुन सकिरहेका छैनन् । सो कारणले हिमालयन बैंकको बोर्ड बैठक बसेर मर्जरमा जाँदा के के गर्ने गर्ने भन्ने निर्णय हुन सकिरहेको छैन । 

हिमालयन बैंकका अध्यक्ष गौतमलाई ठिक भएपछि मर्जर प्रक्रिया अघि बढ्ने इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले बताए । ‘अर्को साता हिमालयन बैंकको बोर्ड बैठक बस्ने मिति तय भएको छ,’ उनले भने ‘हिमालयन बैंकको बोर्ड बैठकपछि मर्जर प्रक्रिया अघि बढाउने तयारीमा हामी छौं ।’ बैंकले बुधबार बोर्ड बैठक बोलाएको भन्ने बुझिएको छ । 

चैत दोस्रो नै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रियालाई अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको थियो । दुबै बैंकको ड्यू डेलिजेन्स अडिट (डीडीए) तयार भइ्रसकेको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले जानकारी दिए । ‘दुबै बैंकको डीडीए सकिएको छ,’उनले भने ‘आगामी साता बैंक सञ्चालक समिति बोर्डमा पेश गर्ने तयारी भएको छ ।  

त्यसपछि सबै प्रक्रिया मिलाएर मर्जरमा जाने उनले बताए । बैंकहरूले मर्जरमा जाने तयारी गरेपनि बैंकको नाम र शेयर स्वाप रेसियो भने बोर्ड बैठक पछिमात्रै तय हुने उनले बताए । नयाँ बन्ने बैंकको नामले दुबै बैंकको नामको पहिचान कायम राख्ने छ । मर्जरपछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहन सक्ने देखिएको छ । 

बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको हैसियत करिब करिब उस्तै भएकोले शेयर स्वाप रेसियो १ बराबर १ नै हुने अनुमान गरिएको छ । तर, यसको निर्णय भने भएको छैन । ‘दुबै बैंकको डीडीए रिपोर्ट आइसकेकाले बोर्ड बैठकपछि व्यवस्थापनको संरचनाबारे सहमति हुनेछ । दुई बैंक मर्जर पछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बन्ने छन् भने बैंक अध्यक्ष पृथ्वी बहादुर पाँडे बन्ने तयारी भएको छ । 

मर्जरपछि बैंकको चुक्ता पुँजी २५ अर्ब रुपैयाँ हुनेछ भने जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । यी दुई बैंंक मर्जरमा गएपछि नेपालकै सबैभन्दा ठूलो बैंक बन्नेछ । वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले मर्जर÷एक्युजिसनलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ । सो नीतिलाई अनुसरण गर्दै दुबै बैंकले मर्जर जाने तयारी अघि बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस