aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

‘बैंकहरुको प्रगति देखेर राष्ट्र बैंक नै छक्क परेको छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
‘बैंकहरुको प्रगति देखेर राष्ट्र बैंक नै छक्क परेको छ’
डा. शंकरप्रसाद शर्मा, वरिष्ठ अर्थशास्त्री

काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व बैंकर डा. शंकरप्रसाद शर्माले नेपालका वाणिज्य बैंकहरुलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत बुझ्न नसकेको बताएका छन् । सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष समेत रहिसकेका डा. शर्माले आर्थिक न्युजसँगको विशेष कुराकानीमा यस्तो धारणा व्यक्त गरेका हुन् । 

नेपालमा वाणिज्य बैंकहरु मर्जरको प्रक्रिया तिव्र गतिमा रहेका बेला उनको यस्तो विचार बाहिर आएको हो । हाल ठुला बैंकहरु मर्जर मार्फत झन ठुला बन्ने चरणमा रहेको हुँदा त्यसले पुर्याउन सक्ने नकारात्मक असरको सम्भावना माथीको प्रश्नमा उनले यस्तो गम्भिर विचार व्यक्त गरेका हुन् । 

शर्माले भने, ‘वाणिज्य बैंकको ग्रोथ यस्तो छ कि त्यो देखेर राष्ट्र बैंक समेत छक्क परेको छ । यो कसरी सम्भव भयो भन्ने न बैंकरले बुझेका छन् न नियामक निकाय राष्ट्र बैंकले नै ठम्याउन सकेको छ ।’ विग मर्जरले सिर्जना गरेको अवस्थालाई मुल्यांकन गर्न र त्यहि अनुरुपको निति निर्माण गर्न हामीसंग अनुभवको समेत अभाव रहेको डा. शर्माले बताए । 

तुलनात्मक रुपमा नेपाल राष्ट्र बैंकमा क्षमतावान मानिसहरु रहेका भएपनि धेरै कुरा हाम्रो अनुभव र अध्ययन बाहिरका समेत भइरहने तथ्यप्रति सचेत रहनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘हो, राष्ट्र बैंकमा धेरै राम्रा र कम्पिटेन्ट मानिसहरु छन् । तर, हामीले थाहा नपाएका धेरै कुरा भित्र भित्रै भइरहेका हुन सक्छन् । जसलाई ठम्याउन सकिएन भने गाह्रो हुन्छ ।’ 

नेपालका बैंकहरुमा निक्षेपको मात्रा निकै नै बढेको र त्यो नेपालको कुल जीडीपीको हाराहारीको देखिएको तथ्यांक हालै मात्रै सार्वजनिक भएको छ । यदि नेपालको बैंकिङ क्षेत्र अफ्ठ्यारोमा पर्ने हो या त्यसमा थोरै मात्र संंकट आउने हो भने त्यसले पुरै अर्थतन्त्रलाई नै धराशयी बनाउन सक्ने चिन्ता अर्थशास्त्रीहरुले व्यक्त गरिरहेका छन् । यो यथार्थतालाई स्विकार गर्दै नियामक निकाय नेपाल राष्ट्र बैंकले धेरै नै सजकता अपनाउनु पर्नेमा शर्माको जोड छ ।

बैंकिङ क्षेत्रको यथार्थ अवस्था के हो र त्यहाँ कसरी काम भइरहेको छ भन्ने तथ्य बुझ्न स्वतन्त्र अनुसन्धानकर्ताहरुको भूमिका रहने शर्मा बताउँछन् । यदि राष्ट्र बैंकले विज्ञहरुलाई सो कामको जिम्मेवारी दिने हो भने ठुलो जोखिमलाई समयमै न्युनिकरण गर्न सकिने उनको भनाई छ । शर्मा भन्छन्, ‘स्वतन्त्र विज्ञहरुलाई एक दुई वटा बैंकको अध्ययन मात्रै गर्न दिने हो भने पनि स्थितीको सहि आँकलन गर्न सकिन्छ । के भइरहेको छ थाहा पाउन सकिन्छ । र, यो आवश्यक पनि छ । राष्ट्र बैंकले यो कुरा बुझ्नु पर्छ ।’ 

तरलता अभाव अबका केहि महिनासम्म नेपालका वाणिज्य बैंकहरु सामु ठुलो चुनौतीका रुपमा देखा पर्ने देखिएको छ । जबसम्म सरकारले खर्च बढाउँदैन तबसम्म यो स्थिती रहि रहने बुझाई शर्माको समेत छ । 

नेपालमा नियामक निकाय नेपाल राष्ट्र बैंक मातहतका बैंकहरुमाथि कडारुपमा प्रस्तुत हुन नसकेको बताउँदै उनले यहाँ धेरै चुनौतिहरु विद्यमान रहेको बताए । बैंक एक आपसमा गाभ्ने र ठुला पार्ने लगायतका काम भइरहे पनि नियामक निकाय नै केहि सिमाहरु भित्र बाँधिएको हुँदा गाह्र्रो परिरहेको उनको विश्लेषण छ ।

अमेरिकाको लागि नेपाली राजुदुत समेत रहिसकेका डा. शर्मा त्यहाँको उदाहरण दिदै भन्छन्– उता अमेरिकामा बैंक खोल्न साह्र्रै सजिलो छ । तर, केहि गडबढी भएको देखियो भने तुरुन्तै बन्द पनि गर्ने अधिकार त्यहाँको नियामक निकायसंग छ । त्यसैले उता त्यति गाह्र्रो हुँदैन । अमेरिकामा बर्षेनी सयौँ बैंक खुल्ने र त्यसैगरि बन्द हुने विषय स्वभाविक मानिए पनि हाम्रोमा कुनै एउटा बैंक डुब्नु वा बन्द हुनु ठुलो परिघटना बन्ने हुँदा नितिगतरुपमा नै सुधारको खाँचो रहेको उनी बताउँछन् । 

हालको अवस्थामा समेत यदि राष्ट्र बैंक मातहतका बैंकभन्दा एक कदम अगाडी रहने र चनाखो बनिरहने हो भने जोखिन न्युनिकरण गर्न सकिने शर्मा देख्छन् । तर, त्यसका लागि राष्ट्रले आफ्नो आन्तरिक क्षमतामा नै ठुलो विकास गर्नु पर्ने आवश्यकता रहेको उनी बताउँछन् । उनका अनुसार बाह्य मुलकबाट समेत विज्ञहरु बोलाएर उनीहरुबाट सिक्न तयार रहनुपर्ने देखिएको छ । 

पछिल्ला दिनमा विभिन्न शिर्षकमा बैंकबाट सहुलियतदरमा पैसा लिने र शेयर बजारमा लगानी गर्ने क्रम बढेको आशंका व्यक्त गर्दै शर्माले पुँजी बजारको अप्रत्याशित बृद्धिबारे आफ्नो टिप्पणी यसरी राखे– सस्तो ब्याजदरमा लिएको पैसा पनि शेयर बजारमा हाले । अनि, इनसाइडर ट्रेडिङको समेत अभ्यास यसबेला भयो । त्यसैले ठुला लगानीकर्ता उक्सिने, सर्वसाधरण डुब्ने परिस्थिती बन्न सक्ने देखिएको छ । 


 

प्रतिक्रिया दिनुहोस