
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाकालाई निर्देशन दिएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै राष्ट्र बैंकले वित्तिय संस्थाका केन्द्रिय कार्यालयमा २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भएसम्म २५ प्रतिशतभन्दा कम कर्मचारीबाट सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले संक्रमण जोखिमलाई ध्यान दिइ सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न भनेको छ । साथै विभिन्न निकायबाट जारी भएका÷हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनमा कर्मचारीको अनावश्यक उपस्थिती रोक्नका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फ्रम होम तथा रिमोर्ट एक्सेसबाट कार्य सम्पादनमा जोड दिन समेत निर्देशन दिएको छ ।
बैंकले दिएको निर्देशन अनुसार नजिकै रहेका शाखाहरको हकमा न्यून संख्यामा शाखाहरु सञ्चालनमा ल्याई बैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
व्यवस्थापनका लागि बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेवसाइट तथा सामाजिक सञ्जाल समेतमा सेवा सम्बन्धि सोधपुछकोका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, शाखा खुला रहने समयावधि सम्बन्धि सूचना दैनिकरुपमा प्रकाशन गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस