
काठमाडौं । नेपाल बैंक लिमिटेडले वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि सार्वजनिक निष्कासन गर्ने भएको छ । बैंकले ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामको १० अवधिको प्रतिकित्ता रू. १ हजार अंकित मूल्यको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।
सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो । सो ऋणपत्र खरिदका लागि छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलोमाअवधि जेठ ५ गतेसम्म सार्वजनिक निष्कासनमा रहनेछ । यो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट यो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिङ्गल ए ग्रेडिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्था हो भन्ने जनाउँछ ।
प्रतिक्रिया दिनुहोस