
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ती सम्बन्धि प्रस्ताव पारित गर्न विशेष साधारण सभा आव्हान गरेका छन् । नेशनल माइक्रोफाइनान्सले जेठ २५ गते र महिला सहयात्रा लघुवित्तले जेठ २५ गते विशेष सधारण सभा आव्हान गरेको हुन ।
महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गर्ने प्रस्ताव पारितका लागि नेशनल माइक्रोफाइनान्सले केन्द्रिय कार्यालय धादिङवेसीमा विहान ११ बजे र महिला लघुवित्तले केन्द्रिय कार्यालय चित्लाङ, मकवानपुरमा विहान ११ बजे सभा आव्हान गरेको हो । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकको बैशाख १५ गते सैद्धान्तिक सहमति प्राप्त गरेको थियो ।
यी दुई कम्पनीविच माघ ८ गते प्राप्ती सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तको प्रतिशेयर मूल्य रू. ६८ कायम रहने गरी प्राप्ती गर्न लागेको हो । यस आधारमा महिला सहयात्राको १०० शेयर हुने शेयरधनीहरुले नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर प्राप्त गर्नेछन् ।
नेशनल माइक्रोफाइनान्सको केन्द्रिय कार्यालय धादिङमा र महिला सहयात्राको केन्द्रिय कार्यालय मकवानपुरमा रहेको छ । हाल ४३ वटा जिल्लाहरुमा ६५ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी रू. ३१ करोड ९४ लाख ९५ हजार रहेको छ । त्यस्तै १८ जिल्लाहरुमा कार्यक्षेत्र रहेको महिला सहयात्राको चुक्तापूँजी रू. १४ करोड ६४ लाख १० हजार रहेको छ । यस वर्ष महिला सहयात्राले १० प्रतिशत बोनस शेयर र नेशनल माइक्रोफाइनान्सले २१ प्रतिशत बोनस मार्फत पूँजी बढाएका हुन ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी विनियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम महिला सहयात्राको शेयर कारोबार माघ ९ गतेदेखि रोक्का भएको छ । नेशनल माइक्रोफाइनान्सले भने विशेष साधारण सभा प्रयोजनका लागि जेठ १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । सभाले प्राप्ती प्रयोजनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
प्रतिक्रिया दिनुहोस