aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सिटिजन्स बैंक आक्रामक : सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
सिटिजन्स बैंक आक्रामक : सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

काठमाडौं । प्राप्ति तथा मर्जमा सिटिजन्स बैंक आक्रामक देखिएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसंग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

मंगलबार यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । आ—आफ्नो विशेष÷साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिनेछ ।  दुवै बैंकले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी यसै आर्थिक वर्ष २०७७/०७८ भित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको छ । २०७८ साल जेठ ९ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुने बैंकले दावी गरेको छ । 

प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् । बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ । 

बैंकको संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक  प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडी बढाएको हो । सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।  
 

प्रतिक्रिया दिनुहोस