
काठमाडौं । अहिले बैंकिड क्षेत्रमा ‘बिग मर्जर’ को हल्ला निकै चलेको छ । तर, ‘स्मल मर्जर’ मा जान चाहेका बैंक तथा वित्तीय संस्था भने अलमलमा देखिन्छन् । मर्जर र एक्विजिसनमा जान तयार भएका ३१ बैंक तथा वित्तीय संस्था अलमलमा परेका हुन् । बिग मर्जरको चपेटामा परेर आफ्नो अस्तित्व नै धरापमा पर्ने हो कि भन्ने चिन्तामा उनीहरु देखिन्छन् ।
प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्स, कन्काई विकास बैंकलाई एक्विजिसन गर्ने निर्णय गरिसकेको छ । यस्तै ओम डेभलपमेन्ट बैंक एनएमबी बैंकबीच पनि मर्ज हुने सहमति भइसकेको छ । तर, बिग मर्जरको हल्लाले उनीहरुलाई अलमल भइरहेको छ ।
यसैगरी, देवः विकास बैंकमा वेष्टर्न डेभलपमेन्ट र सहारा विकास बैंक एक्विजिसनमा जाने तयारीमा छन् । उनीहरुको स्थिति पनि त्यस्तै छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरुलाई मौद्रिक नीतिअघि नै बिग मर्जरमा जानका लागि जोडी खोज्न आग्रह गरेपछि त स्मल मर्जरको बिषय ओझेलमा पर्नु स्वभाविक भएको बिज्ञहरुको भनाइ छ ।
बिग मर्जरका लागि बैंकका अध्यक्ष, सञ्चालक, ठूला लगानीकर्ता र सीईओहरु मर्जर तथा एक्वायरका लागि जोडी खोज्न कम्मर कसेर लागेका छन् । तर, स्मल मर्जरमा जान तयार भएका बैंक तथा वित्तीय संस्थाहरु भने मर्जर वा एक्विजिसनमा जाने कि नजाने भन्ने दुविधामा छन् ।
बिग मर्जरको हावा नलाग्दै स्मल मर्जरमा जानका लागि बैंक तथा वित्तीय संस्था जति उत्साहित थिए । अहिले त्यो उत्साहमा कमी आएको छ ।
बिग मर्जरको हल्ला नआउँदै बैंक तथा वित्तीय संस्थाहरुमा मर्जर तथा एक्विजिसनको लहर शुरु भएको थियो । धेरै जसो वाणिज्य बैंकमा विकास बैंक र फाइनान्स कम्पनी मर्जर तथा एक्वायरमा जान तयार थिए । ८६ वटा विकास बैंकहरु अहिले २५ मा सीमित भएका छन् । ८१ वटा फाइनान्स कम्पनी २४ वटामा सीमित भएका छन् ।
पछिल्लो समय वाणिज्य बैंकहरुको बिग मर्जरको हल्लाले बजार तताइरहेको छ । बिग मर्जर हल्लामात्रै बढी छ । तर, स्मल मर्जर स्वतः स्फूर्त रुपमा अगाडि बढ्दै आएको छ । पछिल्लो समय विकास बैंक, वित्त कम्पनीमात्र होइन, मर्जर तथा एक्विजिसन प्रक्रियामा जाने लघुवित्त कम्पनीहरुको संख्या पनि बढ्दै गएका छन् । तर, बिग मर्जरको भूतले उनीहरुलाई पनि तर्साइरहेको छ ।
वाणिज्य बैंकहरुमा बिग मर्जर भन्ने हल्लाले बजार तताए पनि अहिलेसम्म कुनै पनि बैंक एक आपसमा मर्जरका लागि औपचारिक रुपमा प्रक्रिया अघि बढेको छैन् ।
बिग मर्जरका लागि अहिलेसम्म गरिएका छलफलले राम्रो परिणाम ल्याउला भन्ने अपेक्षा कमैले गरेका छन् । बिग मर्जरका लागि अहिलेसम्म गरिएका छलफल अनौपचारिक रुपमा सीमित छन् ।
प्रतिक्रिया दिनुहोस