
काठमाडौं । बिग मर्जरको हल्ला चलाएर शेयर बजारमा चलखेल गर्ने समूह सक्रिय हुन थालेको छ । केही दिनयता विभिन्न बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज हुने भन्ने हल्ला फैलाएर शेयर बजारमा चलखेल गरिरहेको एक बैंकका सञ्चालकले बताए । पछिल्ला दिनमा ग्लोबल आइएमई बैंकले विभिन्न बैंकसँग भएको सामान्य कुराकानीलाई पनि सहमतिको तहमा पुगेको भनि हल्ला फैलाएर बैंकको शेयरमा चलखेल गरेको ती सञ्चालकले बताए । यहि हप्ताको
आइतबार र सोमबार मात्र ग्लोबल आइएमईको संस्थागत शेयर एक सय ७३ मूल्यको आसपासमा करिब १० करोडको खरिद बिक्री भएको छ । त्यस्तै बैंकको साधारण शेयर पनि ३०० माथि पुर्याउन धेरै कोशिस भएको देखिन्छ । तर, साधारण शेयर ३०० रुपैयाँमा धेरै समय टिक्न भने सकेन ।
मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बाहिर बजारमा आएको हल्लाजस्तो लेभलमा कुराकानी नभएको बताए । उनले भने–‘मर्जरका विषयमा केही बैंकसँग छलफल भइरहेको छ । तर, निश्कर्षमा पुगेको स्थिति भने अझै होइन,’
नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई भने प्रमुख कार्यकारी नियुक्तिमा दबाब दिइरहेका बुझिएको छ । लामो समयदेखि बैंकमा कामु सीईओले बैंक चलिरहेकाले बैंक सञ्चालक समितिलाई राष्ट्र बैंकबाट दबाव आइरहेको बैंकका एक सञ्चालकले बताए । ती सञ्चालकका अनुसार ग्लोबल आइएमई बैंकमा अध्यक्ष नै सर्वेसर्वा भएकाले कोसँग मर्ज गर्ने वा के गर्ने भन्ने विषय टुङग्याएर मात्र बोर्डमा छलफल हुने गरेको बताए ।
यता, मेगा बैंक नेपालको आइतबार र सोमबार राम्रै कारोबार भएको छ । बैंकको २ सय रुपैयाँ पुग्न हम्मे–हम्मे भएको शेयर २ सयभन्दा माथि पनि ठूलै भोलुममा कारोबार भइरहेको छ ।
ग्लोबल आइएमई बैंकलाई बिग मर्जरको धेरै चटारो परेको देखिएको छ । कहिले एनआईसी एसिया बैंकसँग जोडिने गरेको छ, त कहिले कुमारी बैंक अहिले आएर मेगा बैंकसँग मर्जको विषय तातेको छ । राष्ट्र बैंकले गत हप्ता बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर मर्जका विषयमा राय माग गरेको थियो । उक्त कार्यक्रममा बोल्ने अधिकांश बैंकरहरुले बिग मर्जरको विषयलाई सहजै स्वीकारेको अवस्था थिएन । उक्त कार्यक्रमपछि बैंकहरुलाई मर्जमा जान राष्ट्र बैंकले नै दबाब गरिरहेको भन्ने खालका चर्चा पनि बाहिर आइरहेका छन् । तर, यो सत्य नभएको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् ।
उनले भने–‘बिग मर्जका लागि एनएमबिलाई कतैबाट पनि प्रेरस आएको छैन मर्जमा जान चाहनेलाई त पहिलादेखि नै बाटो खुला थियो कसैले प्रेसर गर्नुपर्छ जस्तो लाग्दैन ।’ बिग मर्जरलाई लिएर अहिले चर्चासँगै शिल्लीसमेत उडाइरहेका छन् । विवाहको मौसम भएकाले पनि होला बैंक बैंकबीचमा प्रेम र विवाहको प्रसंगले पनि राम्रै स्थान पाइरहेको छन । प्रेममा विछोड भयो भने के होला र विवाहपछि पारपाचुके गर्नु पर्यो भने के होला भन्ने विषय भने चर्चाको विषय बनिरहेका छैनन् ।
नेपालको वित्तीय क्षेत्रलाई नजिकबाट हेरिरहेका र वित्तीय क्षेत्रलाई अप्रत्यक्ष रुपमा नियमन गरिरहेका विदेशी संस्था अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले भने यो विवाह र प्रेमको प्रशंगलाई स्वीकार गरिनसेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस