
काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । बैंकले २०७७ माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट गरेको २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णयलाई राष्ट्र बैंकले शतप्रतिशत मात्र हकप्रद जारी गर्न राष्ट्र बैंकको स्वीकृति पाएको हो । राष्ट्र बैंकले कम्पनीको हाल कायम चुक्तापूँजी रू. १३ करोड १२ लाख ३३ हजार ८०० को आधारमा १ बराबर १ को अनुपातमा हकप्रद विक्रीका लागि जेठ २० गते स्वीकृति प्रदान गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले अव नेपाल धितोपत्र बोर्डमा उक्त हकप्रद शेयर निष्कासनको लागि निवेदन दिनेछ । आवश्यक प्रकृया पुरा गरी बोर्डको स्वीकृति पश्चात मात्र बैंकले हकप्रद शेयर विक्री गर्नेछ । यस अघि पनि बैंकले २०७७ साल माघ १३ गतेदेखि फागुन ३ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नारायणी डेभलपमेण्ट बैंक रू. ५२ लाख ५४ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नोक्सानी रकम बढेको हो । गत वर्र्ष यस अवधिसम्म कम्पनी रू. १० लाख ९९ हजार खुद नोक्सानीमा रहेको थियो ।
रू. ५७ लाख ९१ हजार सञ्चालन नोक्सानीमा रहेको कम्पनीको खुद ब्याज आम्दानी पनि रू. ७ लाख ८५ हजार ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ लाख ५० हजार खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको जगेडा कोष रकम रू. १२ करोड ६० लाख रहेको छ । यस अवधिसम्म कम्पनीको रिटर्न अर्निङ भने रू. २१ करोड २७ लाख ५८ हजार ऋणात्मक रहेको छ । गत वर्षभन्दा २६५ दशमलव ३६ प्रतिशत बढी रू. ९ करोड ४४ लाख ३७ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ७९४ दशमलव ७९ प्रतिशत बढी रू. २ करोड ६७ लाख ८१ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष शतप्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात भने यो वर्ष २५ दशमलव ९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि रू. ४ ऋणात्मक रहेको छ । यो अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ३६ दशमलव १५ छ ।
प्रतिक्रिया दिनुहोस