aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

विदेशी लगानीका लागि नयाँ नियम, अब राष्ट्र बैंकको स्वीकृति नचाहिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ जेठ २०७८
विदेशी लगानीका लागि नयाँ नियम, अब राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं । विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियामवली २०७८ जारी भएको छ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि विद्यमान विनियामवली संशोधन गरी विदेशी लगानीमा नयाँ नियम बनाएको हो । 

नेपाल राष्ट्र बैंकको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरी गरेको उक्त विनियामवलीमा अब विदेशी लगानी नेपालमा ल्याउँदा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ । 

तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्याउन वा पठाउनु पूर्व अनुसूची २ को ढाँचामा विदेशी विनिमय एकाइमा लिखित जानकारी भने दिनुपर्ने छ । 

त्यस्तै, शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ । सोका लागि विदेशी लगानी हुने उद्योग÷कम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची–४ मा उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेश गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । 

यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग÷कम्पनीको खातामा जम्मा गर्नेछ । वदेशी ऋणदाता संस्थाको हकमा संस्थाको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित खुद सम्पत्ति वा बैंक मौज्दातलगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सीमा तोकेको छ ।   तर, अमेरिकी डलर १० लाख वा सोबराबरको विदेशी मुद्राभन्दा कम रकमको ऋणको हकमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन ।

 त्यस्तै,विदेशी ऋणदाताले पेश गर्ने वित्तीय विवरण लेखापरीक्षण गर्न नपर्ने व्यहोराको प्रमाण सहित सञ्चालक समिति÷उच्च व्यवस्थापनले तयार गरेको वित्तीय विवरण संलग्न भई आएमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन । 

लगानीको लेखाङ्कनमा पनि सुधार गरीएको छ । लगानी भित्रिएपछि राष्ट्र बैंकमा लेखाङ्कन गर्नु पर्छ। यसअघि लेखाङ्कन नभए अब सूचना जारी गरेर एक बर्षको समय दिइने छ । कागजपत्र पुरा भएको सात दिनभित्र लेखाङकन गरिसक्ने भएको छ । 

नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनी तथा उद्योगको खातामा जम्मा गर्न सक्छन्। यसका लागि नौ वटा कागजपत्र आवश्यक पर्छ । राष्ट्र बैंकले विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटहीमा पनि केही सहजीकरण गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस