
काठमाडौं । एक साता थप गरिएको लकडाउनमा बैंक तथा वित्तीय सेवा सञ्चालनमा भने पुरानै व्यवस्था यथावत रहेको छ । बैंक तथा वित्तीय क्षेत्र सञ्चालनका लागि नेपाल राष्ट बैंकले बनाएको नियम अनुसार सञ्चालन गर्न पर्ने आइतबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णयमा उल्लेख छ ।
त्यस्तै बीमा कम्पनी र धितोपत्र बोर्डले भने २० प्रतिशत कर्मचारी परिचालन गरेर कार्यालय सञ्चालन गर्न पर्ने नयाँ व्यवस्था रहेको छ । त्यस्तै, रेमिट्यान्स र सहकारी संस्थाभने हप्तामा दुई दिन( आइतबार र विहीबार) मात्र खोल्न पाइने छ । बैंक तथा वित्तीय संस्थाहरु सीमित कर्मचारी र सीमित शाखामा खोल्न पाउने व्यवस्था गरेको भक्तपुर जिल्ला प्रमुख अधिकारी भट्टराइले बताए ।
हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालयका ३३ प्रतिशत कर्मचारी र ३ वटा शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीबाट आफ्नो सेवा सञ्चालन गर्न पर्ने पुरानै व्यवस्था यथावत रहेको नेपाल राष्ट बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले आर्थिकन्युज डटकमलाई बताए । त्यस्तै विकास बैंकको हकमा प्रधान कार्यालय ३३ प्रतिशत कर्मचारी र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२५ प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गर्दै मोडालिटी पनि परिवर्तन गरेका छन् । आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमकुमार भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस