
काठमाडौं । नेपाल राष्ट्र बैंकले आसयपत्र पेश गर्न दिएको मिति नजिकिदै गर्दा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको विग मर्जर कार्यक्रमका सहमति नजिक पुगेर विफल भएका छन् ।
बुधबार ग्लोबल आइएमइ र मेगा बैंकको विग मर्जरमा ५ प्रतिशतको स्वप रेसियो नमिल्दा विफल भएको समाचार स्रोतले बताएको छ । राष्ट्र बैंकले भने झै विवाहका लागि को दुलाह र को दुलही बन्ने भन्ने विषयले मूर्त रुप लिन नसक्दा विग मर्जरको विषय टुङगो पुग्न असहज भइरहेको छ ।
मेगा बैंकलाई अन्य बैंकहरुले लक्ष्मी(दुलही) बनाउन खोजिरहका छन् । मेगा बैंकमाथि सबैको आखाँ लाग्नुमा मेगा बैंकका १२ सय जना संस्थापक शेयरधनी हुनु पनि अर्को कारण रहेको छ ।
मेगा बैंकलाई आफूमा मर्ज गराउन पाएमा मर्जपछिको संस्थापकको हालिमुहालि गर्न पाइने आंकांक्षीका कारणले पनि मेगामा सबैको चासो गएको हुन सक्छ । १२ सयजनाबाट प्रोक्क्षि शेयर ल्याएर सधै संस्थापक भइरहन मेगाबाट जाने सञ्चालकलाई कठिन हुने सम्भावना पनि त्यतिकै छ ।
त्यस्तै केहि दिनदेखि प्राइम कमर्सियल र सेन्चुरी कमर्सियल बैंकको मर्जको विषय पनि मौद्रिक नीति अगाडि सहमति बन्ने विषयले विश्राम पाएको बुझिएको छ । सेन्चुरी बैंकको सञ्चालक समितिले मर्जको विषयलाई मौद्रिक नीति अघि कुनै पनि सहमति वा वहस नगर्ने निर्णय गरेको एक सञ्चालकले बताए ।
त्यस्तैगरि, बुधबार नै नेपाल क्रेडिट एण्ड कमर्स बैंकको मर्जर कमिटिले १ प्रतिशतभन्दा बढी शेयर होल्ड गर्नेलाई छलफलका लागि बोलाएको थियो । छलफलमा बैंकले पहिला आफनो पुँजी पुर्याने प्रक्रिया पुरा गर्न सबै शेयरधनीहरुले सल्लाह दिएको एक शेयरधनीले जानकारी दिए । उक्त छलफलमा बैंकले उपयुक्त मर्जर पार्नर पाएमा मर्जका लागि सबै शेयरधनीले सहयोग गर्ने समेत सैद्धान्तिक सहमति दिएको ती शेयरधनीले बताए ।
विग मर्जरका कारणले साना मर्जको विषय भने ओझेमा परेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पूर्वका एक विकास बैंकसँग मर्ज गर्ने विषय गत हप्ता जेविल्स फाइनान्स अक्वायर कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बताएपछि उक्त विषयलाई मूर्त रुप दिन पूर्वको मितेरि डेभलपमेन्ट र एक्सेल डेभपलमेन्ट बैंकसँग छलफल शुरु गरेको छ ।
त्यस्तै, सिटिजन इन्टरनेशनल बैंक र मितेरि डेभलपमेन्ट बैंकबीचमा पनि आज मर्जका विषयमा छलफल भएको सिटिजन इन्टरनेशनल बैंकका एक सञ्चालकले बताए ।
उता, मौद्रिक नीति अन्य वर्षकोभन्दा फरक आउने भएकाले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जको विषय मात्र नभएर अब प्रमुख कार्यकारी अधिकृत समेत राष्ट्र बैंकले नै नियुक्ती गर्ने विषय पनि चर्चाको विषय बनिरहेको छ ।
तर, प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्ने विषय मौद्रिक नीतिमा नै आउने कि संशोधन भइरहेको बैैंक तथा वित्तीय सस्था (बाफिया) ऐनमा हो त्यो भने मौद्रिक नीति आएपछि नै पत्ता लाग्ला ।
विग मर्जरको हल्ला चलाएर शेयर बजारमा चलखेल गर्ने ग्रुप भने आज पनि सफल भएको छ । विग मर्जरसँग जोडिएका बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताले रामै्र कमाएका छन् ।
केहि दिनयता विभिन्न बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जहुने भन्ने हल्ला फैलाएर शेयर बजारबाट असार मासान्तको किस्ता भने राम्रैसँग तिर्ने भएका छन् ।
बुधबार पनि विग मर्जरमा हल्ला चलाइएका विभिन्न बैंकको शेयर राम्रै कारोबार भएको छ । ग्लोबल आइएमइसँग मेगाको हल्लाले बुधबार पनि ३ करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तैगरि, सेन्चुरी कमर्सियल बैंकमा पनि मर्जको हल्लाले ३ करोड बढीको कारोबार भएको छ ।
सबै बैंकहरुले राष्ट्र बैंकलाई आगामि मौद्रिक नीतिलाई सहयोग गर्ने आसयको पत्र पेश गरेर विग मर्जलाई भने मौद्रिक नीतिलाई नै हेर्ने सहमति गरेको जस्तो देखिएको छ ।
प्रतिक्रिया दिनुहोस