
काठमाडौं । प्राप्ती सम्बन्धी प्रस्ताब पारित गर्न नबिल बैंक र युनाइटेड फाइनान्सले एकै दिन असार पाँच गते विशेष साधारण सभा बोलाएका छन् । नबिल बैंक ले युनाइटेड फाइनान्स कम्पनीलाई प्राप्ती गर्न लागेको हो ।
उक्त प्रस्ताव पारित गर्न दुबै कम्पनीको प्रधान कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएका हुन । कोभिड महामारीलाई ध्यानमा राखी दुबै कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेका हुन । सभाले दुबै कम्पनीविच भएको समझदारी पत्रलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ भने प्राप्ती प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।
नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदानगर्ने गरी प्राप्ती गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् । एनसीसी बैंक र नेपाल बङ्गलादेश बैंकसँग मर्जरको हल्ला चलिरहेको अवस्थामा नबिलले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्न लागेको हो ।
हाल नबिल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रहेको छ भने युनाइटेड फाइनान्सको रू. १ अर्ब ४ करोड ८ लाख ३४ हजार छ । प्राप्ती पश्चात नबिलको चुक्तापूँजी रू. १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार पुग्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि दुबै कम्पनीले जेठ २८ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा जेठ २७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको वितरणयोग्य नाफा रू. ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रहेको छ । नबिलले यस वर्ष रू. ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार खुद नाफा गरेको छ ।
रिटर्न अर्निङ सहित बैंकको जगेडा कोष रकम रू. १७ अर्ब ५२ करोड ६८ लाख ३० हजार रहेको छ । यस वर्ष रू. २ खर्ब ८ अर्ब ३३ करोड ३८ लाख १८ हजार निक्षेप संकलन गरेको नबिलले रू. १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख ९८ हजार कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ४० रहेको छ ।
त्यस्तै तेस्रो त्रैमाससम्म युनाइटेड फाइनान्सको वितरणयोग्य नाफा रू. ४ करोड ७३ लाख ५४ हजार रहेको छ । उक्त अवधिसम्म यस कम्पनीले रू. ८ करोड १६ लाख ५९ हजार खुद नाफा गरेको छ । युनाइटेड फाइनान्सको शेयर प्रिमियम रकम रू. १५ करोड ८६ लाख ८४ हजार, रिटर्न अनिङ्ग रू. १६ करोड ६८ लाख ६१ हजार र रिजर्भ रू. २९ करोड ३६ लाख ३९ हजार रहेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ८ अर्ब ३७ करोड ४४ लाख ६९ हजार निक्षेप संकलन गरेको छ भने रू. ५ अर्ब ६३ करोड ५९ लाख ५२ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. १० दशमलव ४६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस