
काठमाडौं । सात बैंक ‘बिग मर्जर’ मा जान तयार भएका छन् । तर, कोसँग मर्जरमा जाने भन्ने बारेमा भने केही खुलाएका छैनन् । सिभिल बैंक, मेगा बैंक नेपाल, लक्ष्मी बैंक, सानिमा बैंक, सन्राइज बैंक, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरमा जानका लागि तयार भएको भन्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छन् । तर, उनीहरुले कोसँग मर्जरमा जाने भन्ने बारेमा भने केही खुलाएका छैनन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको शब्दमा विवाह गर्न केटो वा केटी तयार हुने तर कोसँग गर्ने भन्ने बारेमा मौन भएजस्तै बिग मर्जरका लागि निवेदन दिएका बैंकहरुको पनि त्यस्तै अवस्था भएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । ‘बाबु आमाले छोरा छोरीलाई विवाह गर्न दबाब दिँदा हुन्छ खोज्नुस् न भनेजस्तै भएको छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने–‘गभर्नरले विवाहका लागि जोडी खोज्न भन्नु भएको थियो । तर, उनीहरुले त जोडी नखोजी विवाह मात्र गर्न मात्र तयार भएर आएछन् ।’
गभर्नर नेपालले हिजो बिहीबारसम्म मर्जरमा जानका लागि तयार हुन र त्यही अनुसारको लिखित निवेदन पेस गर्न आग्रह गरेका थिए । त्यही अनुसार उक्त मितिभित्र सात बैंक बिग मर्जरमा जान तयार भएको भन्दै औपचारिकता निभाउन लिखित निवेदन राष्ट्र बैंकलाई बुझाएका छन् ।
२८ वाणिज्य बैंकमा सात बाहेक अन्य २१ वाणिज्य बैंक बिग मर्जरमा जाने तयार पनि भएका छैनन् । २१ वाणिज्य बैंकले औपचारिकता निभाउनका लागि भए पनि निवेदन समेत दिएनन् । ती बैंकहरु फोर्स मर्जरको कुरा आयो भने अर्कै कुरा नत्र मर्जरमा जाने सम्भावना नदेखिएको राष्ट्र बैंकका ती उच्च अधिकारीले बताए ।
निवेदन दिएका सात बैंक गाभ्न तयार भए पनि गाभिन कोही तयारी भएको देखिएका छैनन् । नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले बिग मर्जरका लागि जोडी खोज्न आग्रह गरे पनि विजोडीका निवेदन मात्र आएको राष्ट्र बैंकका ती उच्च अधिकारीले बताए । राष्ट्र बैंक स्रोतले भन्यो–‘बिग मर्जरका लागि जोडी खोजेर कोही आएका छैनन्, औपचारिकता निभाउन मात्र आएका छन् ।’ मर्जरमा जान बाध्य पारियो भने बिग मर्जर सम्भव हुन सक्ने तर यतिकै मर्जरमा जाउ भनेर भनेको भरमा कोही पनि मर्जरमा जाने सम्भावना नदेखिएको राष्ट्र बैंकका अधिकारीको भनाइ छ ।
गभर्नर नेपालले मौद्रिक नीति आउनुअघि नै मर्जरमा जान तयार भएर बस्न आग्रह गरेपछि अधिकांश बैंकको सञ्चालक समितिको बैठक बसेको थियो । ती बैठकमा बिग मर्जरका बारेमा छलफल भए पनि बैंकको अस्तित्व मेटिने गरी अर्काे बैंकमा गाभिन नजाने निर्णय गरेका छन् । राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउने अन्तिम तयारीमा जुटेको छ ।
प्रतिक्रिया दिनुहोस