aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

ब्रोकरको लागि अब बैंकहरु सेबोन नधाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
ब्रोकरको लागि अब बैंकहरु सेबोन नधाउने

काठमाडौं । ब्रोकर लाइसेन्सका लागि अब ताकेता गर्दै धितोपत्र बोर्ड नधाउने निष्कर्षमा बैंकरहरु पुगेका छन् । सम्पूर्ण रित पुर्‍याएर आवेदन गरिसकेको हुनाले सो सम्बन्धीको काम अगाडी बढाउने जिम्मा अब नेपाल धितोपत्र बोर्ड (सेबोन)कै हातमा रहेको नेपाल बैंकर एसोसिएसनका अध्यक्ष भुवन दाहाल बताउँछन् । 

सेबोनको ढिलासुस्ती प्रति दिक्दार मान्दै दाहाल भन्छन्, ‘हामीले परीक्षा दिइसक्यौँ । अब नतिजा निकाल्दैनन् भने के गर्ने ? एक/दुई पटक त रिजल्ट निकाल्नु पर्छ भनेर सम्झाएकै हो । वास्ता गरेनन् । त्यसैले चुपचाप छौँ ।’ 

कतै बैंकहरुलाई यस्तो लाइसेन्स नदिने खेल त हुँदै छैन भन्ने आशंका सहितको प्रश्न राख्दा उनी भन्छन्, ‘हामीले ऐन अनुसार पाउनु पर्ने हो । तोके जति कागजात रित पुर्‍याएर पेस गरेका छौँ । निवेदनको ढाँचा मिलाएका छौँ । अब के भनेर नदिने ?’

यसरी दुई वर्ष अघिदेखि सुरु गरेको प्रक्रिया आफ्नै कारणले ढिला भएकोमा क्षमा याचना गर्दै सेबोनले लाइसेन्स लिन बोलाउनु पर्ने उनी बताउँछन् । यस सम्बन्धमा बाहिर चर्चामा आएका टिप्पणीहरू हास्यास्पद भएको बताउँदै दाहाल भन्छन्, ‘बैंकको कर्पोरेट गभर्नेन्स राम्रो भएन रे । यो भन्दा अचम्मको अर्को के कुरा सुन्नु ?’

यदि लाइसेन्स पाएको खण्डमा बैंकहरुका लागि ब्रोकर सञ्चालन गर्ने काम कुनै एउटा सानो विभाग चलाएभन्दा गाह्रो काम नहुने उनको भनाइ छ । बैंकले आफ्नो प्रतिष्ठामा आँच आउने कारणले समेत ब्रोकर सञ्चालन लगायतका कामहरूमा पूर्ण पारदर्शिता हुने दाहालले दाबी गरे । 

चालू अवस्थामा रहेको ब्रोकरहरुसंग बैंकले सञ्चालन गर्ने ब्रोकरको तुलना गर्दा सञ्चालनमा पारदर्शिता र संस्थागत सुशासन दुबैमा बैंक अगाडी हुने बैंकरहरुको बुझाइ छ । अहिलेका ब्रोकरहरू आफै मालिक र सर्वेसर्वा भएका कारण बरु गडबडी गर्ने सक्ने तर बैंकको कर्मचारीले ब्रोकर चलाउँदा कारबाहीमा परिने डरले समेत सचेत हुने उनीहरूको तर्क छ । 

बैंकहरु नेपाल राष्ट्र बैंकको कडा नियमनमा बस्नुपर्ने कारणले उनीहरूबाट गडबडी हुन नसक्ने बैंकहरुको भनाई छ । बैंकलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङ हुन्छ भन्ने आशंकालाई ठाडै नकार्दै दाहाल भन्छन्, ‘मानौँ, सानिमा बैंकले ब्रोकर सञ्चालन गर्‍यो भने स्वभाविकरुपमा आफै आफ्नो किनबेच गर्न मिल्दैन । त्यसबाहेक ब्रोकरले गर्ने काम भनेको त त्यहाँ आएका खरिद र बिक्रीको मागलाई पुरा गरिदिने मात्रै हो ।’ 

उनी उल्टै प्रश्न गर्छन्, ‘ल तपाइ नै भन्नुहोस्, यहाँ कहाँनेर र कसरी इन्साइडर ट्रेडिङ हुन्छ ? किनेर होल्ड गर्ने भए पो त्यसको सम्भावना हुन्छ भन्नु ।’अहिलेकै स्थितिमा बैंकहरुमा सुधार गर्नु पर्ने धेरै कुरा रहेको स्वीकार गर्दै अध्यक्ष दाहाल भन्छन्, ‘तर, ब्रोकरकै कुरा गर्ने हो भने आजकै मितिमा पनि हामीमा उनीहरूको भन्दा धेरै राम्रो क्षमता छ । राष्ट्र बैंकले नियमन गरेको संस्था खराब हुने र आफूखुसी गर्न पाउने कम्पनी सही हुने त्यस्तो कल्पना कसरी गर्न सकिन्छ ।’ 

सरकारले नै बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिँदा उपयुक्त हुने ठहर गरेर आफै कार्यविधिमा त्यस बमोजिमको प्रावधान थपेको हुनाले बैंकले ब्रोकरको लाइसेन्स नपाउलान् भन्ने आफूलाई नलागेको दाहाल दाबी गर्छन् । 

 

 

प्रतिक्रिया दिनुहोस