aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सिर्जन फाइनान्सलाई प्राप्ती गरी सिटिजन्स बैंकले सुरु गर्यो एकिकृत कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ असार २०७८
सिर्जन फाइनान्सलाई प्राप्ती गरी सिटिजन्स बैंकले सुरु गर्यो एकिकृत कारोबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जन फाइनान्सलाई प्राप्ती गरी एकिकृत कारोबार सुरु गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी कम्पनीहरुले एकिकृत कारोबार सुरु गरेको जानकारी दिएका हुन् । 

यी दुबै कम्पनीले जेठ २७ गते अलग अलग विशेष साधारण सभामार्फत प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते प्राप्तीका लागि अन्तिम स्वीकृति पश्चात दुबै कम्पनीले एकिकृत कारोबार सुरु गरेका हुन । 

दुबै कम्पनी एक भई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १०० बराबर ९५ को शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गरेको हो । 

यस अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी रू. ११ अर्ब ६६ करोड रहेकोमा प्राप्ति पश्चात यो पूँजी रू. १२ अर्ब ५८ करोड पुग्नेछ । 

२०७८ साल जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव रू. १ खर्ब ३८ अर्ब हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव रू. १ खर्ब २२ अर्ब हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ पुगेको छ । 

हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु भएका छन्् । बैंकले सातवटै प्रदेशमा आफ्नो सक्रिय उपस्थिति बनाउँदै लगेको छ । 

प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुगेको बैंकको भनाई छ । सिटिजन्स बैंकले यस अघि तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी चैत १४ गतेदेखि एकिकृत कारोबार सुरु गरिसकेको छ । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १००ः९६ को अनुपातमा शेयर आदानप्रदान गरी प्राप्ती गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस