aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

ह्याकरको धम्कीले बैंकिङ क्षेत्र आतंकित, विज्ञ भन्छन्– खेलाची नगरौँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ साउन २०७८
ह्याकरको धम्कीले बैंकिङ क्षेत्र आतंकित, विज्ञ भन्छन्– खेलाची नगरौँ’

काठमाडौं । नेपालको बैंकिङ सिस्टम ह्याक गर्ने धम्कीसहित ह्याकरको निशानामा परेका बैंकहरुको सूची सार्वजनिक भएपछि बुधवारदेखि वाणिज्य बैंकहरु आतंकित बनेका छन् ।  ह्याकरले निशाना साधेका १५ वटा वाणिज्य बैंकको सूची बुधवार नै सार्वजनिक भएको थियो । नेपाल राष्ट्र बैंकका  प्रवक्ता देवकुमार ढकाल र सहायक प्रवक्ता नारायण प्रसाद पोखरेललाई समेत विदेशी नम्बरबाट धम्कीपूर्ण फोन आएको थियो ।   

ढकालले ह्याकरको त्यो फोन रिसिभ गरे । तर, पोखरेलले भने आफूले फोन नउठाएको बताउँछन् । उनले भने, ‘प्रवक्ता सरलाई र मलाई फोन आएको थियो । सरले रिसिभ गरेर कुरा गर्नु भयो । तर, मैले चाहिँ तिनीहरूको फोन हो भनेर बुझेपछि उठाइन ।’   

उनका अनुसार सूचीमा रहेका कुनै पनि बैंकमा हालसम्म समस्या देखिएको छैन । सबै बैंकलाई उच्च सतर्कतामा राखिएको छ । सूचीमा नाम समावेश रहेको एक बैंकका उच्च अधिकारीले आफूहरूको सूचना प्रविधिसँग सम्बन्धित प्राविधिकहरूले आफ्नो सिस्टमको सूक्ष्म निगरानी गरिरहेका छन् ।  

पोखरेलले अगाडी भने, ‘हामीलाई इमेल नै चाहिँ आएको छैन । तर, सामाजिक सञ्जालमार्फत इमेलको बेहोरा बाहिर आएको छ । ह्याकरले पठाएको हाम्रो इमेल ठेगाना सही छ ।’  

उनीहरूले सामाजिक सञ्जालमार्फत पठाएको धम्की पत्रमा लेखिएको छ–जो यो पढ्दै हुनुहुन्छ तपाइलाई यो जानकारी गराउन चाहन्छौँ कि सम्पूर्ण बैंकिङ प्रणालीलाई हामीले नियन्त्रणमा लिएका छौँ । त्यसपछि उनीहरूले ती बैंकहरुको नाम उल्लेख  गरेका छन् । जसमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइशि एसिया बैंक, बैंक अफ काठमान्डु, सिटिजन्स बैंक, सानिमा बैंक, एसबिआई बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक छन् । 

ह्याकरले यदि ठुलो क्षतिबाट बच्ने हो भने २४ घण्टाका लागि सबै शाखाहरू बन्द गर्न समेत चेतावनी दिएका छन् । यदि त्यसो हो भने बिहीबारदेखि सबै म्याग्नेटिक इंक क्यारेक्टर रिकग्नेशन (एमआईसीआर) र इलेक्ट्रोनिक्स क्लियरिङ सिस्टम (इसियस) वा कुनै अन्य अनलाइन वा अफलाइन कारोबारहरूबाट पैसा लगिने भनिएको छ । 

सो धम्की पत्रमा अगाडी भनिएको छ– यदि त्यसो भयो भने उल्लेखित बैंकहरुले २४ घण्टाभित्रमा ठुलो क्षति बेहोर्नु पर्नेछ । र, त्यो दक्षिण एसियाकै ठुलो बैंकिङ क्षति हुनेछ । यसलाई खेलाँची वा कुनै हावादारी धम्कीकारुपमा नलिन पनि उनीहरूले चेतावनी दिएका छन् । 

बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोभनदेव पन्तले यस्तो हल्ला आउने बित्तिकै आफूले बैंकको सूचना प्रविधि युनिटलाई सक्रिय बनाएको बताए । उनले भने, ‘अहिलेसम्म हाम्रो सिस्टममा कुनै पनि अनधिकृत घुसपैठको प्रयास समेत भएको छैन ।’ 

नेपालको बैंकिङ साइवर एक्सपर्ट दिवस न्यौपानेले अहिलेको ह्याकरहरूले डिजिटल चेक क्लियरिङ सिस्टमबाट आफूहरूले पैसा चोर्ने कुरा गरेको बताए । उनले भने, ‘हामीले अहिले चलाइरहेका कतिपय सिस्टमहरू बाह्य विश्वमा असफल र कमजोर प्रमाणित भइसकेका हुन् । त्यसैले खतरा धेरै नै छ ।’ 

राष्ट्र बैंक समेतलाई जोडेर चेतावनी आउनु भनेको नेपाली बैंकिङ क्षेत्र माथि ठुलो धावा बोलिएको रूपमा हेर्नुपर्ने न्यौपानेको भनाई छ । उनका अनुसार सबै म्याग्नेटिक इंक क्यारेक्टर रिकग्नेशन (एमआईसीआर) र इलेक्ट्रोनिक्स क्लियरिङ सिस्टम (इसियस)को डोमिन नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको हुँदा त्यसमाथि समेत धावा बोलिएको रूपमा बुझ्नु पर्छ ।    

 

प्रतिक्रिया दिनुहोस