aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
टिप्पणी

के हाम्रा बैंकमा ह्यकिङ्गको खतरा छैन भनेर ढुक्क हुन सकिन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ साउन २०७८
के हाम्रा बैंकमा ह्यकिङ्गको खतरा छैन भनेर ढुक्क हुन सकिन्छ ?

काठमाडौँ। बुधवार नेपाल राष्ट्र बैंक सहित १५ वटा वाणिज्य बैंकको सिस्टममा आफूहरूको अनधिकृत पहुँच पुगिसकेको र हुनसक्ने ठुलो क्षतिबाट जोगिने भए २४ घण्टा ती बैंकका सबै शाखा बन्द गरेर कारोबार रोक्नु भन्दै फोन र इमेल मार्फत आएको धम्कि झुट्टा (फेक) रहेको राष्ट्र बैंकले बताइसकेको छ। हाम्रो बैंकिंग सुरक्षाका लागि सिस्टममा पर्याप्त मात्रामा फायरवाल हालिएको हुँदा आत्तिनु नपर्ने भन्दै राष्ट्र बैंकले आम ग्राहकलाई विश्वस्त पार्ने प्रयास गरेको छ। 

तर, के हामी हाम्रो बैंकिंग प्रणाली सुरक्षित र बलियो छ भनेर ढुक्क हुन सक्छौँ ? नेपालका बैंकिंग सुरक्षा विज्ञहरू नै भन्दै आएका छन्- नेपालमा प्रयोग भएको बैंकिंग प्रणाली अत्यन्तै कमजोर प्रकारको छ। विश्वका कतिपय मुलुकमा काम नलाग्ने भएर प्रमाणित भइसकेको प्रणाली अहिले हामी प्रयोग गरिरहेका छौँ। त्यसैले जोखिम उच्च छ।   

विज्ञको बिचारलाई गम्भीरतापूर्वक सुन्नु र त्यही अनुसारको तयारी गर्नु किन पनि जरुरी देखिन्छ भने अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोमी पेवालले हालै एक अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफमा भनेका छन् - हामीले अहिले सर्वाधिक चनाखो भएर हेर्नुपर्ने विषय भनेकै साइबर चुनौती हो। त्यसै गरी हालै अमेरिकी संसद्मा भएको एक सुनुवाइमा वाल स्ट्रिटका छ वटा ठुला बैंकलाई अहिलेको चुनौती के हो भनेर सोधिएको प्रश्नमा सबैले एउटै जवाफ दिएका थिए- साइबर सेक्युरिटी।  उनीहरूले हालको महामारी, जलवायु परिवर्तन वा सन् २००८ को जस्तै आर्थिक मन्दीको सम्भावनालाई समस्याका  पेस गरेनन्। 

यसले के देखाउँछ भने जसरी हामीलाई आश्वस्त पार्न खोजिँदै छ त्यही रूपमा स्वयं बैङ्कहरू र केन्द्रीय बैंक समेत ढुक्क भएर बस्यो भने हामी ठुलो जोखिमको अत्यन्तै नजिकमा हरपल रहनुपर्ने हुन्छ। यदि कुनै ठुलो साइबर आक्रमण भयो र त्यो कारणले कुनै एक बैंक मात्र डुब्यो भने हाम्रो समग्र अर्थतन्त्र नै धराशायी हुन सक्छ। 

बुधवार धम्की पत्रमा ह्याकरले यदि त्यस्तो ह्याक भयो भने त्यो दक्षिण एसियामा हाल सम्मकै सर्वाधिक ठुलो बैंकिंग ह्याक हुने समेत उल्लेख गरेको थियो। यसले स्पष्ट पार्छ कि बङ्गलादेशको केन्द्रीय बैंकको खातामा रहेको १०१ मिलियन डलरको चोरी भन्दा ठुलो चोरी हाम्रा बैंकबाट हुनसक्ने चेतावनी आइसकेको छ। त्यसैले पनि सातै दिन, चौबिसै घण्टा हाम्रो बैंकिंग सिस्टम निगरानीमा रहनुपर्ने देखिएको छ। 

यस सन्दर्भमा केही महिना अघि मात्र अस्ट्रेलियामा सम्पन्न बैंकिंग सम्मेलनमा त्यहाँको अष्ट्रेलियन प्रुडेन्सियल रेगुलेसन अथोरिटीका अध्यक्ष वायन बाइरेसले भनेको कुरा सम्झनु उपयुक्त हुन्छ। उनले संसारभरका बैंकलाई सुझाव दिँदै भएका थिए- अहिलेसम्म कुनै त्यस्तो ठुलो साइबर आक्रमण भएको छैन। तर, यो समयको कुरा मात्र हो। त्यसैले केही भएको छैन भनेर ढुक्क हुनु मूर्खता मात्र हो। 

वास्तव मै भन्ने हो भने कुनै ठुलो साइबर हमलाका कारण कुनै बैंक पूर्ण रूपमा असफल हुने जोखिम अब त्यति टाढाको कुरा होइन।  लगभग सबै वित्तीय संस्थाहरूले एक या अर्को रूपमा कुनै न कुनै साइबर आक्रमणको अनुभव गरेका छन्। र, त्यस्तो आक्रमणको सङ्ख्या मात्र बढ्दो छ।  बोस्टन कन्सल्टिभ ग्रुपका अनुसार सन् २०१५ सम्म ३ गुणा मात्र जोखिम थपिएको मानिँदै आएकोमा अहिले त्यो बढेर ३ सय गुणा बनिसकेको छ। 

विश्वभरिका वित्तीय संस्था र सरकारको लागि साइबर आक्रमणको बढ्दो जोखिम र बैङ्कमा सम्भावित प्रभाव पार्ने शीर्ष चिन्ताको विषय हो। त्यसैले यहाँ कसरी र किन बैंकहरू जोखिममा छन् भन्ने विषयमा समेत छोटो चर्चा गरिएको छ।

फेब्रुअरी २०१६ मा ह्याकरहरूले बङ्गलादेशको केन्द्रीय बैंकबाट १०० मिलियन डलर सफलतापूर्वक चोरी गरेपछि बैंकहरूमा ठुलो साइबर आक्रमण हुने डर बढ्दै गएको छ। त्यसको लगत्तै रुसी केन्द्रीय बैंकका अधिकारीहरूले खुलासा गरे कि ह्याकरहरूले दुई अरब रुबल भन्दा बढी चोरी गरे। 

धेरै बैंकले त्यहाँ साइबर आक्रमणका लाखौँ प्रयासहरू देखेका छन्। तर, आक्रमणकारीका ती प्रयत्नहरू असफल बनेका कारण हामी सुरक्षित छौँ। तर ह्याकरहरू पनि द्रुत गतिमा परिष्कृत हुँदै छन् जसले बैंकहरूलाई अझ ठुलो आक्रमणको चपेटामा पार्न सक्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस