
काठमाडौं । मेवा खोला जलविद्युत आयोजना निमार्णको लागि सात बैंकले लगानी गर्ने भएका छन् । ५० मेगावाट क्षमताको उक्त आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा विभिन्न ७ बैंकहरुले ७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्ने भएका हुन् ।
बैंकको अगुवाईमा कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र सिभिल बैंकसहित ७ बैंकहरुले ६ अर्ब ७५ करोड रुपैयाँ आवधिक कर्जा र २५ करोड चालु पुँजी कर्जा गरी कूल ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । जसको लागि प्रवद्र्धक कम्पनी एवं बैंकहरुबीच विहिबारका दिन वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ ।
मेवा खोला जलविद्युत आयोजना प्रदेश नंं. १ को ताप्लेजुङ्ग जिल्ला साविक थुकिमा, लिङतेप एवं खाम्लुङ्ग गाविस (हालको मेरिङदेन गाँउपालिका) मा निर्माण हुन लागेको हो । जुन युनाइटेड मेवा खोला हाइड्रोपावर प्रा।लि प्रवद्र्धक रहेको छ ।
परियोजनाको अनुमानित लागत करीब ९ अर्ब रुपैयाँमा बैंकहरुले ७५ः२५ को ऋणः स्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । यस मध्ये, सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड रुपैयाँ, कुमारी बैंकबाट १ अर्ब रुपैयाँ, मेगा बैंक नेपालबाट १ अर्ब रुपैयाँ, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट १ अर्ब रुपैयाँ, नेपाल एसबिआईबाट ८० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट १ अर्ब रुपैयाँ र सिभिल बैंकबाट ५० करोड रुपैयाँ लगानी हुनेछ । त्यस्तै, २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने कमपनीले जनाएको छ ।
आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रकृया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी गराइएको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघु स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।
प्रतिक्रिया दिनुहोस