aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कुल बजार पूँजीकरणमा नेपाल टेलिकमलाई नबिल बैंकले पछि पार्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० साउन २०७८
कुल बजार पूँजीकरणमा नेपाल टेलिकमलाई नबिल बैंकले पछि पार्यो

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकको कायम भएको छ । पछिल्लो अन्तिम कारोबार दिन साउन ७ गते बिहीवार नेपाल दुरसञ्चार कम्पनीलाई पछि पार्दै नबिल बैंकले कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा कायम गरेको हो । 

बिहीवार नबिल बैंकको रू. १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार बराबरको बजार पूूँजीकरण कायम भएको छ । बिहीवार नबिल बैंकको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ५ ले बढेर रू. १ हजार ४५९ कायम भएको हो ।

गत साताको अन्तिम कारोबार दिन रू. १ हजार ३५९ अन्तिम मूल्य रहेको बैंकको कुल बजार पूँजीकरण भने रू. १ खर्ब ८३ अर्ब १९ करोड ५३ लाख ५२ हजार रहेको थियो । गत साताभन्दा यो साता बैंकको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १०० ले बढेको छ । दोस्रो बजारमा हाल नबिल बैंकको १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत रहेको छ । 

गत सातासम्म सर्वाधिक बजार पूँजीकरण रहेको नेपाल दुरसञ्चार कम्पनीको यो साता कुल बजार पूँजीकरण रू. १ खर्ब ९४ अर्ब ४० करोड कायम भएको छ । यो रकम गत साताको अन्तिम कारोबार दिन रू. १ खर्ब ९७ अर्ब १० करोड थियो । गत साता रू. १ हजार ३१४ रहेको नेपाल दुरसञ्चार कम्पनीको अन्तिम शेयरमूल्य यो साता प्रतिकित्ता रू. १८ ले घटेको हो । 

यस साताको अन्तिम कारोबार दिन बिहीवार नेपाल दुरसञ्चार कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर रू. १ हजार २९६ कायम भएको छ । नेप्सेको वेवसाइटलाई आधार मान्दा हाल १३ समूहका १९१ कम्पनी सूचीकृत रहेका छन् । दैनिक कारोबारमा भने २२२ देखि २२५ ओटा कम्पनीहरुको शेयर कारोबार हुने गरेको छ । 

बिहीवार धितोपत्र दोस्रो बजारकै कुल बजार पूँजीकरण भने रू. ४१ खर्ब ७९ अर्ब १७ करोड ४० लाख ७३ हजार पुगेको छ । गत साता यो रकम रू. १० खर्ब १० अर्ब ९५ करोड ७० लाख ८१ हजार रहेको थियो । गत साताभन्दा यो साता कुल बजार पूँजीकरण रकम रू. १ खर्ब ६८ अर्ब २१ करोड ६० लाख ९२ हजार बढी कायम भएको हो । 

यो साता गत साताभन्दा नेप्से परिसूचक पनि १२० दशमलव ९३ अंकले बढेर ३ हजार ४ दशमलव ३१ विन्दुमा पुगेको छ । यो साता रू. ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार बराबरको १५ करोड ४० लाख ६ हजार ६०२ कित्ता शेयर कारोबार भएको छ । 


 

प्रतिक्रिया दिनुहोस