aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साउनमै आउँदैछ तीन कम्पनीको आईपीओ, कुन कम्पनीको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ साउन २०७८
साउनमै आउँदैछ तीन कम्पनीको आईपीओ, कुन कम्पनीको कति ?

काठमाडौं । प्राथमिक शेयर (आईपीओ)मा लगानी गर्न खोज्दै हुनुहुन्छ ? यदि हो भने पैसा जोहो गर्नतिर लाग्नुहोस् । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा नै विभिन्न तीन कम्पनीको आईपीओ बिक्री खुल्ला हुँदैछ । मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तले यहि महिनाभित्र आईपीओ बिक्री खुला गर्ने भएका हुन् ।  

मैलुङ खोला जलविद्युत कम्पनी यहि साउन १४ गते सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । साथै, सानिमा लाइफ इन्स्योरेन्स साउन २० गते र मानुषी लघुवित्तले साउन २७ गते आईपीओ बिक्री खुला गर्ने भएका हुन् ।

कुन कम्पनीको कति ?  

मैलुङ खोला जलविद्युत कम्पनी 
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले उक्त मूल्य बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेका हो ।    

सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । कर्मचारी र सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।   

यो आईपीओ छिटोमा साउन १८ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा ढिलोमा साउन २८ गतेसम्म विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने संकेत गर्दछ ।   

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो आईपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । 

सानिमा लाईफ  
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो ।   

कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।  

सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

यो आइपीआ साउन २४ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले आईपीओ विक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ । आईपीओ खरिदका लागि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।   

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवासमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिनेछ । 

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  

नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २२ गतेदेखि व्यवसायिक यात्रा सुरु गरेको कम्पनीले २ अर्ब रुपैयाँ बराबरको चुक्तापूँजी कायम गर्न आईपीओको सहारा लिएको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी २ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।   

हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेकोे कम्पनीको आईपीओ पश्चात कम्पनीको बीमा समितिले तोके बराबरको पूँजी कायम हुनेछ । जेठ ९ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले असार ३१ गते बोर्डबाट अनुमति पाएको हो ।  

कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १०९ दशमलव ६७ रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा १० करोड ४८ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६ दशमलव १० रुपैयाँ रहेको छ ।    

मानुषी लघुवित्त
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गते देखि सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबर रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कुल कित्तामध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र ५ प्रतिशत दरको १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।  

कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३६ प्रतिशत शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ । 

यो आइपीओ खरिदका लागि साउन ३१ गते सम्म आवेदन गर्न सकिनेछ । सो समय अवधिमा विक्री नभएमा ढिलोमा भदौ ९ गते सम्म विक्रीमा रहने कम्पनीको भनाई छ । प्राथमिक बजारमा निष्कासन हुने आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको सन्दर्भमा भने कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ ।  

यो आइपीओ निष्कासन गर्नका लागि बैशाख १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले बोर्डबाट असार ३१ गते स्वीकृती पाएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहे्को छ ।  विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबा स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।  

साथै मेरो शेयर सफ्टवेयर र एपबा पनि आइपीओमा आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यस कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव शून्य २ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३२ दशमलव ६९ रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा १ करोड ४७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस