
काठमाडौं । साउन १० गतेदेखि विक्रीमा आएको नबिल बैंक लिमिटेडको वार्षिक ८ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने अवधि लम्बिएको छ । बैंकले छिटो अवधि साउन १३ गतेभित्र माग बमोजिमको आवेदन नपरेपछि ढिलो अवधि साउन २४ गतेसम्मको मिति तय गरेको हो । यो विचमा माग बमोजिमको आवेदन प्राप्त भएमा कुनै पनि दिन विक्री बन्दको सुचना सार्वजनिक गर्ने जानकारी पनि बैंकले दिएको छ ।
बैंकले ७ वर्षे अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । प्रतिकित्ता रू. १ हजार अंकित मूल्यको कुल कित्तामध्ये रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणमा र बाँकी रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बैंक आफैले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुमा विक्री गर्नेछ ।
सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पनि बैंकले ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले बैंकलाई निकै कम कर्जा जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने कम्पनीहरु समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको बुझाउँछ ।
प्रतिक्रिया दिनुहोस