
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ भवन शिलान्यास भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले भवन शिलान्यास गरेकी हुन् । आगामी ३० महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन शिलान्यासका क्रममा राष्ट्रपति भण्डारीले निर्धारित समयमै भवन निर्माण कार्य सम्पन्न गर्न सुझाव दिइन् ।
राष्ट्रपति भण्डारीले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले जवाफदेही पनि हुनुपर्ने भएकाले त्यसतर्फ पनि राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताइन् । बैंकले आफू र आफ्नो मातहतको वित्तीय प्रणालीलाई पनि व्यवस्थित गर्नुपर्ने उनँको भनाइ थियो ।
आम सर्वसाधारणलाई वित्तीय पँहुचमा ल्याई कृषि, पर्यटन, ऊर्जा तथा जलस्रोतको क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक आर्थिक पुनर्निर्माणमा पनि जुटेकाले आर्थिक वृद्धिसहितको विकासमा लागेको बताए ।
केन्द्रीय बैंकहरुको पनि अभिभावक भएकाले स्वायतत्तासँगै जवाफदेहीता बढाउनुपर्ने उनको भनाइ थियो । राष्ट्र बैंकले लगानीमा वृद्धि गर्नुमात्रै नभई लगानीको प्रतिफलमा पनि ध्यान दिनुपर्ने भएकाले बैंकले उचित ढंगबाट व्यवस्थापन गर्न उनले जोड दिए ।
२०७६ साल असार २२ सम्म ७३० स्थानमा बैंक शाखा पनि विस्तार गरिसकेको उनले बताए । राष्ट्र बैंकको नयाँ भवन आगामी २०७८ भदौ सम्ममा बनिसक्ने गरी पुनर्निर्माण प्राधिकरणसँगको सम्झौतामा आफ्नै लगानीमा बनाउन लागिएको हो । भवनको निर्माण जिम्मा सिगो सिमानान्तर जेबी कम्पनीले पाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक अहिले आर्थिक क्षेत्रकै पुनःनिर्माणको चरणमा रहेको उल्लेख गर्दै सरकारले आर्थिक वृद्धिका साथै सामाजिक न्यायमा आधारित वितरणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ भनले भने । लगानीको वातावरणका लागि सरकारले काम गरिरहेको भन्दै उनले मुलुकलाई विद्युतीय र बंैकिङ कारोवारयुक्त बनाउन अभियान सञ्चालन गरिएको बताए ।
अर्थमन्त्री डा खतिवडाले वित्तीय स्थायित्वको चरणमा मुलुक पुगेकाले मूल्यवृद्धि र व्यापार घाटा घटाउन तथा लगानीको प्रतिफल ल्याउन बैंकले प्रभावकारी भूमिका खेल्न सक्ने बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुनःनिर्माणले पछिल्लो समयमा गति लिएको उल्लेख गर्दै नेपालले पुनःनिर्माणका क्षेत्रमा प्राप्त गरेका उपलब्धि र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विनाशकारी भूकम्पबाट बालुवारटारस्थित केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालयलगायत प्रभावित भए पनि भूकम्प गएको दोस्रो दिनदेखि सेवालाई निरन्तरता दिएको जनाए । गर्भनर डा. नेपालले राष्ट्र बैंकले वित्तीय क्षमतको विकास गर्दै सबै नेपालीको बैंक खाता अभियान सफल बनाउन काम गरिरहेको बताए ।
कूल दुई अर्ब आठ करोड रुपैयाँको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस