
चौथौ पुस्ताको वाणिज्य बैंकहरु मध्येबाट आफनो उत्कृष्ट प्रदर्शन गर्दै आएको मेगा बैंकको सातौँ साधारण सभाबाट सञ्चालक समितिको अध्यक्ष बनेका व्यक्ति हुन्, भोजबहादुर शाह। नेपाल बैंक तथा वित्तीय परिसंघका उपाध्यक्ष समेत रहेका शाह बैंकिङ क्षेत्रमा आउनु पूर्व उनको नाम शिक्षा क्षेत्रमा स्थापित भइसकेको थियो। निजी विद्यालयहरुको छाता संगठन प्याब्सनको अध्यक्ष रहेको बेला बैंक खोल्ने बारे सोच बनाएका उनै सफल बैंक सञ्चालक शाहसँग आर्थिकन्यूज डटकमले रोचक वार्ता गरेको छ। प्रस्तुत छ, स्पष्ट वक्ता र सामूहिक हितका प्रवर्द्धक शाहसँगको सम्वादको सम्पादित अंशः
निषेधाज्ञाका बेला बैंकिङ क्षेत्रका गतिविधि कसरी चले ?
बैंक वित्तिय संस्था अत्यावश्यक सेवा अन्तर्गत रहेका हुनाले निषेधाज्ञाका बेलामा पनि हामीले थोरै जनशकितबाट सुचारु राख्यौँ । हाम्रै हकमा भन्ने हो भने जम्मा एक तिहाई शाखाहरु हामीले त्यो बेला खोल्यौँ ।
तर, सेवाग्राहीहरुलाई त सहज भएन नि ?
हो, सेवाग्राहीहरुका लागि यातायातको कुनै सुविधा उपलब्ध थिएन । हामीले दुई वटा गाडीको पास लिएर कर्मचारी सम्बन्धित शाखाहरुमा पुर्यायौँ । तर, मोबाइल बैंकिङ लगायतका सुविधाहरु भने ग्राहकहरुले निकै नै प्रयोग गरे । त्यसैगरि, सबै एटीएमहरु सञ्चालनमा रहेका कारण ग्राहकले त्यसको प्रयोग गरे ।
तपाई मेगा बैंकको अध्यक्ष समेत हुनाले व्यवस्थापनलाई कसरी मिलाउनु भयो ?
यसबेला धेरै जसो कामहरु भर्चुअल नै भए । कतिपय भौतिक उपस्थितीमा नै गर्नु पर्ने काम हुन्छ । जस्तो की बैंकहरु डिजिटल सिंग्नेचर लगायतका कुराहरुमा अभ्यस्त छन् । तर, ऋणीहरुमा त त्यो बानी परिसकेको छैन । उहाँहरु त उपस्थित भएर नै सहिछाप गर्नु पर्ने हुन्छ । शुरु शुरुमा त कतिपय कुराहरु हामीलाई पनि अफ्ठयारो भए । तर, यो कोरोनाले त्यसमा बानी बनाइदियो ।
निषेधाज्ञाका बेला तपाईहरुको नियमित बैठकको व्यवस्था कसरी भयो ?
हामी मेगा बैंकको मासिक बैठक नियमितरुपमा अनिवार्य बस्ने गर्छौँ । त्यसमा मासिक प्रगति प्रतिवेदनको समिक्षा गर्छौ । निक्षेप संकलनदेखि लगानीसम्मको अवस्था हेर्छौ । ग्राहकको सन्तुष्टि र नाफाको लक्ष्यमा पुग्दै छौं वा छैनौँ हेर्छौ । त्यसबाहेक बिजनेश मिटिङ पनि गर्छौ । तर, त्यो भने अनलाइनबाट अलिक समस्या हुने रहेछ । भौतिकरुपमा बसेर कुरा गर्दा जति सहज ढंगले मानिसको मनोविज्ञान बुझ्न र पढ्न सकिन्छ ।
तपाई शिक्षा र वित्तिय क्षेत्र दुबै व्यापारमा हुनुहुन्छ । कुनबाट बढी सन्तुष्टि मिलेको छ ?
म जे काम गर्छु सम्पूर्णरुपमा त्यसमा नै लाग्छु । शिक्षा क्षेत्र भनेको मानिसलाई रुपान्तरण गर्ने क्षेत्र हो । त्यसको केन्द्रिय नेतृत्वमा रहेर निति निर्माणमा समेत सहयोग गर्ने मौका पाए । त्यो गर्दा गर्दै नै म बैंकिङ क्षेत्रमा लागेको हो । भयो के भने शिक्षा क्षेत्रलाई आवश्यक पर्ने वित्तिय सहायता खासै नपाइरहेको अवस्था म प्याब्सनको अध्यक्ष रहेको बेला देखे । त्यसैले शिक्षा क्षेत्रको समेत साथि बन्ने हिसाबले मेगा बैंकको परिकल्पना गरिएको हो । यसरी २०६४ सालमा परिकल्पित यो बैंकले २०६७ साल देखि त कारोबार नै शुरु गर्यो ।
भनेपछि बैंक खोलेर मात्रै वित्तिय क्षेत्र बुझ्न थाल्नुभयो ?
स–साना लगानी जुटाएर बैंक खोलिएको हुँदा चुनौति ठूलै थियो । हाम्रा लगानीकर्तामध्ये अधिकांशले वित्तीय क्षेत्रको पहुँच भन्दा बाहिर र बैंक भनेको के हो भनेर बुझेकै थिएनन् । १२ सयभन्दा बढी शुरुका शेयर सदस्यमध्ये सात सय जना जति त शैक्षिक क्षेत्रसँग सम्बन्धित नै थिए । त्यसैले यो बैंकबाट नै धेरैले वित्तिय क्षेत्र बुझ्ने मौका पाएका हुन् ।
अरु व्यापारिक क्षेत्रभन्दा कम नाफा दिने बैंकिङ क्षेत्रमा लगानी गराउँदा ती लगानीकर्ता निराश भएनन् ?
हामीले बैंक सञ्चालन गरेको तीन वर्ष पछि २०७१ सालदेखि लाभांश वितरण गर्न थाल्यौँ । त्यसपछि निरन्तररुपमा लाभांश बढ्दो छ । र, यो स्थाई प्रकृतिको पनि छ । यसले न्यायोचित प्रतिफल दिइरहेको हुँदा लगानीकर्ता निराश बन्नुपर्ने छैन ।
अहिले लगानीकर्ताहरुले व्यवस्थापनलाई अनिसहयोक्तिपुर्ण लाभांश वितरणका लागि दबाब दिएका छैनन । हामीले पनि लगानीकर्तालाई धेरै प्रतिफलको सपना देखाएका छैनौँ । अरु बैंक वित्तिय संस्थाले जस्तै १०/१५ प्रतिशतको प्रतिफल हामी पनि दिइरहेका छौं ।
तर, बैंकले कमाइ त राम्रै गरिरहेको देखिन्छ नि ?
हो, राम्रै छ । तर, हुन्छ के भने नाफाको २० प्रतिशत त कोषमा नै राख्नु पर्यो । १० प्रतिशत कर्मचारीलाई बोनस, सरकारलाई ३० प्रतिशत कर र १ प्रतिशत सामाजिक उत्तरदायित्व लगायतका खर्च गर्दा लगभग ६३ प्रतिशत त त्यतै जान्छ । अनि बाँकी ३७ प्रतिशत न वितरण गर्न मिल्ने हो ।
अहिले नेपालका वाणिज्य बैंकहरुमध्ये मेगालाई कुन स्थानमा राख्नुहुन्छ ?
हामी अहिले ११ वर्ष पुरा गरिसक्दा १० देखि १३ औँ स्थानमा छौं । हाम्रो तेस्रो पञ्च वर्षिय योजनाको अन्त्य हुँदा वि.सं २०८३ मा आफू सरहको कुनै बैंकसँग मर्ज भएर पाँचौँ स्थानमा पुग्ने लक्ष्य छ । अहिले १७८ वटा शाखा छन् । यो आर्थिक वर्षका अन्त्यसम्ममा २०८ वटा शाखा पुर्याउने योजनामा छौं । तर, कानुन पालना गर्ने सवालमा हामी अब्बल छौं । विषय वस्तुलाई हेर्ने र छलफल गर्ने विधिमा हामी उत्कृष्ठ छौं । हाम्रो पञ्चवर्षिय योजना वैज्ञानिक छ । सबै काम गर्दा हामी राष्ट्र बैंकले दिएको संरचना र विधिमा रहेका काम गर्छौँ ।
मेगा बैंकमा धेरै शेयरधनी भएका कारण यो बैंकसँग मर्जमा जान अरु बैंकहरु इच्छुक छन् भन्ने सुनिन्छ नि ?
हामी अरुभन्दा फरक ढंगले सोचेर काम गर्छौ । यो बैंक नचिनेको भर्जिन समुदायले शुरु गरेको बैंक हो । अहिले अन्य संस्थाहरु हामीमा गाभिएपछि ३१/३२ सय त प्रमोटर शेयरहोल्डर भएका छौं । तर, पनि हामी वित्तिय अनुशासन र कानुनको परिपालनालाई हेरेर हाम्रो उद्देश्यसँग मेल खाने, तादम्यता मिल्ने बैंकसँग मात्र मर्जमा सामेल हुन्छौं ।
दोस्रो कुरा मेगा बैंक चौथो जेनेरेशनका बैंकहरुमध्ये राम्रो नाम र प्रतिष्ठा कमाएको बैंक हो । हामी त्यसलाई बचाउन चाहान्छौं । त्यसैले मेगा बैंकको ब्राण्ड भ्यालु फिका हुने गरि कसैसंग पनि मर्जमा जाँदैनौँ । मेगा बैंकले विकास गरेको सँस्कृति आत्मसाथ गर्ने, त्यसलाई जोगाउने र प्रर्बद्धन गर्ने व्यवहारिकरुपमा सक्षमसँग मात्र हाम्रो मर्जर सम्भव छ । त्यस्ता वित्तिय संस्थाहरुसँग छलफल अगाडी बढ्न सक्छ ।
अहिले वाणिज्य बैंकहरुले आफ्नो प्रमोटर शेयरवापतको पैसा निकाल्न पाउनु पर्यो भन्ने माग गरेका छन् । त्यो किन गरिएको हो ?
बैंक तथा वित्तीय संस्था ऐन(बाफिया)मा त्यो प्रशंग आएको छ । तर, अहिले थन्कियो । त्यसमा १० वर्ष सञ्चालन अवधि पुगेका बैंक तथा वित्तिय संस्थाहरुको शेयर राष्ट्र बैंकको शहरीकरणमा पब्लिक शेयरमा रुपान्तरित हुनेछ भन्ने उल्लेख गरिएको छ । १० वर्ष नपुगेको अहिले हामीसँग कुनै बैंक नै छैन । हामीले स्थाइत्व पनि हासिल गरिसकेका छौं । त्यसैले अब प्रमोटर शेयरललाई पब्लिक शेयरमा रुपान्तरण गर्न दिइयोस भन्ने हाम्रो माग हो ।
फेरि अन्य मुलुकमा नै हेर्ने हो भने प्रमोटर शेयर र पब्लिक शेयरमा अन्तर छैन । हामीकहाँ मात्र विभेद हो । प्रमोटर शेयरधनिले जति शेयर भए पनि त्यो बैंकबाट ऋण लिनै पाउँदैन । यस्तो अवस्थाको अन्तय गर्न जरुरी छ । हाम्रो माग प्रमोटर शेयरलाई क्रमश पब्लिक शेयर बनाउँदै लगियोस भन्ने हो ।
तपाईहरुले शेयर ब्रोकरको काम गर्न पाउनु पर्ने माग पनि गर्नु भएको छ । बैंकिङ छोडेर किन त्यता आकर्षित बन्नुभयो ?
अहिले बैंकको सञ्जाल तल्लो तहसम्म पुगेको छ । जनताको घरसम्म नै एउटा व्यवस्थित वित्तिय संस्था पुगेको हुनाले त्यसबाट आम नागरिकले सुविधा पाउनु पर्छ भन्ने कुरा हो । बैंक तुलनात्मकरुपमा बढी विश्वासनिय र कम जोखिम भएको संस्था हुनाले त्यसले शेयर ब्रोकरको काम गर्दा ठिकै हुन्छ भनेर यस्तो अवसर पाउन भनेर माग गरिएको हो ।
फोर्स मर्जरबाट बैंकहरुको संख्या घटाउने नीति लिइदै छ । यसबारे के भन्नु हुन्छ ?
हाम्रो सञ्चालन खर्च वास्तवमै ठुलो छ । हामीले धेरै सेवाहरु विदेशबाट खरिद गरिरहेका छौं । जसका कारण ठुलो धनराशी विदेशि रहेको छ । त्यसैले थोरै चुक्ता पुँजी भएका यस्ता संस्थाहरु घटाउनु पर्छ भनिएको हुनुपर्छ ।
त्यसबाहेक ठुलो परियोजनामा लगानी गर्न तथा कतिपय अवस्थामा अन्तराष्ट्रिय बैंकसंग प्रतिस्पर्धा गर्न पनि ठुला र बलिया बैंक चादिएको छ । यसका लागि मर्जरु आवश्यक भएको हो भन्ने मेरो बुझाई छ ।
मर्जरमा बैंकहरुलाई डोहोर्याउन चुक्ता पुँजी बढाउने सहज तरिका हो । त्यसमा हकप्रद शेयर जारी गर्न दिनु हुँदैन । तर, राष्ट्र बैंकले त्यसो गर्छ जस्तो मलाई लाग्दैन । त्यसैले हामीसँग भएको विधि भनेको बैंकहरुलाई छुट र सहुलियत दिएर मर्जरका लागि प्रोतसाहित गर्ने नै हो । स्प्रेडदरमा, डिभिडेन्डमा लाग्ने करमा छुट दिने सञ्चालक समिति संखया बढाइदिने हो भने बैंकहरु सजिलै मर्जरमा जान्छन् ।
प्रतिक्रिया दिनुहोस