
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ साउन १७ गते सोमवार धितोपत्र दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । असार २८ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले संस्थापक तर्फको ८ लाख २२ हजार ५०० कित्ता समेत गरी कुल १२ लाख ११ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
कम्पनीले कर्मचारी सहित सर्वसाधारणमा रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर वितरण गरेको हो । सर्वसाधारणमा असार १७ गतेदेखि २१ गतेसम्म शेयर विक्री गरेको थियो । नेप्सेले एमकेएलबी स्टक संकेतबाट कारोबार हुने गरी कम्पनीको शेयर सूचीकृत गरेको हो । सोमवारदेखि कारोबारयोग्य हुने यो शेयरको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ११० दशमलव ८४ देखि रू. ३३२ दशमलव ५२ सम्मको मूल्यरेञ्ज तोेकेको छ ।
वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले मूल्यरेञ्ज तोकेको हो । वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका तोक्ने व्यवस्था छ । गत आर्थिक वर्ष ०७६/७७ सम्ममा रू. २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ८४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस