aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

इन्भेष्टमेन्ट-हिमालयन एकीकृत कारोबार कार्तिक १ देखि, हबिबको शेयर किन्न लुछाचुँडी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ साउन २०७८
इन्भेष्टमेन्ट-हिमालयन एकीकृत कारोबार कार्तिक १ देखि, हबिबको शेयर किन्न लुछाचुँडी

काठमाडौं। बहुचर्चित बिग मर्जरको रूपमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया सुस्ताएको चिन्ता बढिरहेको बेला हिमालयन बैंकका ठूला शेयर होल्डर बिचको लफडा सतहमा आएको छ। पाकिस्तानको हबिब बैंकको स्वामित्वमा रहेको २० प्रतिशत संस्थापक शेयर कसले  किन्ने भन्ने लुछाचुँडीले त्यहाँ आन्तरिक खिचातानीको अवस्था सिर्जना गरेको हो। 

त्यसो त कार्तिक १ गतेदेखि एकीकृत कारोबार गर्ने तयारीमा दुवै बैंक रहेका छन्। निर्धारित मितिमा एकीकृत कारोबार हुनेमा आफूहरू ढुक्क रहेको कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक समेत रहेका हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले बताएका छन्। अध्यक्ष गौतम भन्छन्, ‘असोज भरिमा मर्जरका  सबै काम पुरा गर्छौँ र कार्तिक १ देखि एकीकृत कारोबार गर्न प्रतिबद्ध छौं ।’

गौतमका अनुसार आर्थिक वर्षको अन्त्य आइपुगेको हुँदा दुई वटै बैंकको अलग अलग नाफा देखाउनु पर्ने र सो मुनाफा वितरण पनि अलग अलग गर्नुपर्ने भएकोले एकीकृत कारोबार लगायतका काममा ढिला भएको हो। दुई वटै बैंकको वार्षिक साधारण सभा पनि अलग अलग गरेर सक्नु पर्ने छ। मर्जरमा अरू कुनै समस्या भने नरहेको उनले बताए।  

उता नेपाल इन्भेष्टमेन्ट बैंकका एक सञ्चालक भने अझै केही समस्या हिमालयन बैंकको तर्फबाट आएको बताउँछन्। उनले दुखेसो पोख्दै भने,  ‘हिमालयन बैंकका साथीहरू फराकिलो बन्नै सकेनन्।  कहिले सफ्टवेयर हाम्रो राम्रो भन्छन् कहिले केन्द्रीय कार्यालय त हाम्रो नै आकर्षक छ भन्छन्। सबै मेरै राम्रो भनेर पनि कहीँ सहकार्य हुन्छ त ?’

हिमालयन बैंकका तर्फबाट आफ्ना कर्मचारीहरूलाई सबै जसो महत्त्वपूर्ण विभागको जिम्मेवारी दिनुपर्ने लगायतका अस्वाभाविक माग र सर्त धेरै आउने गरेको कारण वाक्क लाग्न थालेको इन्भेष्टमेन्ट बैंकका अर्का सञ्चालकले बताए। आफू छुचो देखिने डर रहेकोले नाम उल्लेख नगर्न अनुरोध गर्दै उनले भने, ‘यस्तो पेलाईले पनि कहीँ हुन्छ।’

यो विषयलाई बजारमा चर्चा गर्नेहरूले राणाको पेलाइमा पाँडे परेको भनेर टिप्पणी गरिरहेका छन्। हुन पनि नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालकहरू यति वाक्क मान्न थालेका छन् कि मर्जरको कुरा गर्दा पहिले निकै उत्साहित हुने उनीहरू हिमालयन बैंक पक्षका सञ्चालकहरूको फुर्ती र चाहिँदो÷नचाहिँदो सर्तका कारण यसबारे बोल्न नै अनिच्छा व्यक्त गर्न थालेका छन्। 

हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकले होल्ड गरेको २० प्रतिशत शेयर किन्न शेयर बजारका अन्य ठूला लगानीकर्ताले समेत चासो देखाएका छन्। अहिले पछिल्लो दिनमा शेयर खरिदको विषय चर्चामा आएको प्रमुख कारण पनि यही रहेको हिमालयन बैकका अर्का सञ्चालक बताउँछन्। तर, त्यसमा लगानी गर्ने लोभ कसैले नगर्दा हुने देखिन्छ। किनकि संस्थापक शेयरको सम्बन्धमा यी दुई बैंक मको मर्जर सम्झौतामा नै सबै कुरा स्पष्ट गरिएको छ। हिमालयन बैंकका अन्य संस्थापक लगानीकर्ताले हबिबको शेयर खरिदमा प्राथमिकता पाउने भन्ने विषय यी दुई बैंक बिच भएको मर्जको सम्झौतामा नै उल्लेख गरिएको छ।  

यसैले त्यो शेयर अरूले तत्कालै खरिद गर्न पाउने अवस्था छैन। यहाँसम्म कि इन्भेस्टमेन्ट बैंकका लगानीकर्तालाई समेत त्यो सुविधा हाललाई छैन। त्यसमाथि हाल मर्जरको प्रक्रियामा रहेकोले यी दुवै बैंकको शेयर खरिद÷बिक्रीमा रोक लागेको छ। उता कर्मचारी सञ्चय कोष भने हबिबको सबै शेयर खरिद गर्ने सोचमा छ। हिमालयन बैंकका अन्य संस्थापक शेयरकर्ताले आफूहरू शेयर खरिदका लागि इच्छुक रहेको भन्दै विभिन्न माध्यमबाट आफ्नो इच्छा सार्वजनिक गरिरहेका बेला करिब १५ प्रतिशत शेयर होल्ड गरेको कर्मचारी सञ्चय कोषले आफ्नो दाबी पेस गरेको हो। 

यसबारे बैंक अध्यक्ष तथा सञ्चय कोषका प्रमुख प्रशासक गौतम भन्छन् , ‘हबिबले आफ्नो शेयर खरिदको लागि हिमालयन बैंकका संस्थापकलाई औपचारिक अनुरोध गरिसकेको छ। तर, बाहिर हल्ला चलाइए जस्तो समानुपातिक रूपमा संस्थापकले शेयर खरिदको अवसर पाउने भन्ने निर्णय भएको भने होइन।’ अरूले नकिनेर छोडेको शेयर मात्र सञ्चय कोषले किन्ने भन्ने कुरा के हो भन्ने जवाफमा उनले भने,  ‘हबिब बैंकको सम्पूर्ण शेयर किन्न कोष तयार छ। हामीले अन्य बैंकमा गरेको भन्दा हिमालयन बैंकमा गरेको लगानीले राम्रो प्रतिफल दिएको हुनाले सो शेयर खरिदको लागी कोष इच्छुक छ।’

स्मरण रहोस्, बैंक मर्जरको विषयमा सर्वाधिक ठुलो सङ्कटका रूपमा देखा पर्ने पदको बाँडफाँड र कर्मचारीको व्यवस्थापन तगारो भने यी दुई बैंकले नाघिसकेका  छन्। मर्जरपछि बैंकको नाम हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंक रहने निश्चित भइसकेको छ। त्यसको अध्यक्षमा हाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे रहने छन्। सो नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने हाल हिमालयन बैंकका सीईओ रहेका अशोक शमशेर जङ्गबहादुर राणा रहने छन्। त्यसै गरी, डेपुटी सीईओको भूमिकामा भने ज्योति प्रकाश पाँडे हुनेछन् जो हाल इन्भेष्टमेन्ट बैंकमा सिइओ छन्। 

प्रतिक्रिया दिनुहोस