aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सूचना चुहावटपछि बढ्यो बङ्गलादेश बैंकको शेयर मूल्य, अख्तियारले लग्यो जग्गा खरिदका कागजपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
सूचना चुहावटपछि बढ्यो बङ्गलादेश बैंकको शेयर मूल्य, अख्तियारले लग्यो जग्गा खरिदका कागजपत्र

काठमाडौँ। नेपालको पुँजी बजारमा अनधिकृत सूचना चुहावट र त्यसकै आधारमा शेयर कारोबार नौलो होइन।  तर, कुनै स्थापित वाणिज्य बैंकले नै त्यसो गर्छ भने भन्नै पर्ने हुन्छ- यहाँ कसैको भरोसा छैन। नैतिकता सबैले बेची सके। 

प्रसङ्ग, यो हप्ता अप्रत्याशित रूपमा शेयर मूल्यमा वृद्धि भएको नेपाल बङ्गलादेश बैंकको हो। जसका सञ्चालकले नै बजारमा सूचना चुहाउँदा स्थिर रहेको सो बैंकको शेयर सोमबारदेखि बढ्न सुरु गरेको हो। यसको शेयर मूल्यमा बजारलाई यस्तो व्यवस्थित रूपमा केही मानिसले चलाइरहेका छन् कि उनीहरूले नियामक निकायको आँखा नपरोस् भनेर होसियारी अपनाएको देखिन्छ। 

बैंक सम्बद्ध विश्वसनीय स्रोतले बताए अनुसार बङ्गलादेश बैंकका अडिटरले कम्पनीको बोर्डमा बुझाएको अन अडिटेड रिपोर्टमा उल्लेखित सूचना सार्वजनिक रूपमा प्रकाशित नगरी बाहिर ल्याइएको हो। भएको घटना के हो भने अघिल्लो सोमबार अर्थात् साउन ११ गते बोर्ड बैठकमा अघिल्लो आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण पेस भएको थियो। त्यो विवरण सञ्चालक समितिको बैठकले पारित समेत गर्‍यो। 

तर, सामान्यतया बोर्डले पारित गरेको भोलिपल्ट राष्ट्रिय दैनिकहरूमा बैंकहरुले वित्तीय विवरण प्रकाशित गर्ने चलन छ। त्यसैले सो बैंकले पनि १२ गते राम्रो नाफा देखिएको सो विवरण सार्वजनिक गर्दैथ्यौँ।  

तर, संयोग के पर्‍यो भने त्यही दिन नेपाल राष्ट्र बैंकले “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन/परिमार्जन र थप व्यवस्था गरिएको परिपत्र जारी गर्‍यो।  सो परिपत्रले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशन गर्ने अवधि २०७८ साउन मसान्तसम्म कायम गरिदियो। 

जबकि पहिलेको व्यवस्था अनुसार त्यस्तो प्रतिवेदन त्रैमासको महिना व्यतीत भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्ने प्रावधान थियो । 

यसरी थप समय पाएपछि प्रकाशनको अन्तिम तयारीमा रहेको सो प्रतिवेदन साउन १२ गते प्रकाशित गरिएन। स्रोत भन्छ, "रातारात रोकियो। अनि एक हप्ता पर्खिएर सो सूचनाको आधारमा नै शेयर मूल्य बढाईदैछ।" 

हुन पनि लामो समय देखि स्थिर रहेको नेपाल बङ्गलादेश बैंकको शेयर पछिल्लो महिना बिस्तारै बढाउन थालिएको थियो। तर, गएको सोमबार साउन १८ गते देखि भने यसको शेयर मूल्यमा उल्लेखनीय वृद्धि हुँदै आएको छ। तर, सर्किट नै लागेको भने छैन।  किन ? यसको जवाफमा स्रोत भन्छ, "आफ्नैलाई मात्र किनाइदैछ। राम्रो नाफा देखिएकोमा अब भदौको १५ सम्म उठेको ऋणको हिसाव पनि जोड्न पाइने भएपछि आकर्षक हुने निश्चित छ। "

स्मरण रहोस्, राष्ट्र बैंकको पछिल्लो परिवर्तित निर्देशिकाले २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकम २०७८ भदौ १५ गते भित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सक्ने व्यवस्था गरिदिएको छ ।

त्यसो त, जग्गा खरिद गर्ने क्रममा सो बैंकका हर्ताकर्ताले गरेको अनियमितता बारे अख्तियारले फेरी एक पटक चासोका साथ सक्रियता बढाएको छ। अख्तियारले राष्ट्र बैंकलाई यसबारे सोधेको प्रश्नबारे त्यहाँबाट चित्तबुझ्दो जवाफ नगएपछि अख्तियार सिधै बैंकमा पुगेको छ। स्रोतका अनुसार जग्गा खरिद प्रकरणको सबै फायल अख्तियारले लागेको छ।  

सो बैंकलाई जग्गा खरिद बारे राष्ट्र बैंकले सोधेको प्रश्न सञ्चालक समितिमा नराखी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुङ्गानाले आफ्नो मनमौजी जवाफ फर्काएका थिए। सो प्रकरणमा जोडिएका ढुङ्गानाले नै आफूखुसी जवाफ पठाएको समाचार आर्थिकन्युजमा समाचार प्रकाशित भएपछि अख्तियारले चित्त नबुझाएको हो।  

आफ्नो कर्तुत खुलेपछि आक्रोशित सिइओ ढुङ्गानाले मातहतका कर्मचारी सबैलाई शङ्काको घेरामा राखेको बैंकका कर्मचारीहरूले गुनासो गर्न थालेका छन्। एक कर्मचारीले गुनासो गर्दै भने, "न केही भेउ पाउनु, न हामीलाई कुनै चासो नै भएको कुरा हो तर पनि कर्के आँखा लगाउन थालेका छन्।"  त्यहीँका केही कर्मचारीलाई त ढुङ्गानाले बोलाएर 'कुरा बाहिर लानेले जागिर छोड्नु' भन्दै धम्की समेत दिएको भन्ने चर्चा बैंकमा चलेको उनले बताए।  

प्रतिक्रिया दिनुहोस