aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एक वर्षमा साढे तीन अर्ब नाफा गर्ने निक्षेप तथा कर्जा सुरक्षण कोषको लक्ष्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ साउन २०७८
एक वर्षमा साढे तीन अर्ब नाफा गर्ने निक्षेप तथा कर्जा सुरक्षण कोषको लक्ष्य

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले हाल सञ्चालन गरेका कार्यक्रमहरुलाई चालू आर्थिक वर्षमा अझ थप विस्तार तथा व्यवस्थितरुपमा अगाडी बढाउने उद्देश्य लिएको छ । कोषले चालू आर्थिक वर्षको प्रस्ताविक बजेट तथा वार्षिक कार्यक्रममा यस्तो उल्लेख गरेको हो ।  

साथै, कोषले चालु आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ५१ करोड नाफा गर्ने लक्ष्य लिएको छ । गएको आर्थिक वर्षमा ३ अर्ब नाफा कमाएको कोषले यस आवमा भने आफ्नो खुद नाफालाई बढाएर ३ अर्ब ५१ करोड पुर्याउने लक्ष्य लिएको छ ।   

चालू आर्थिक वर्षमा कोषले पुराना कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम सञ्चालन गरेर कोषले चालु आर्थिक वर्षमा ४ अर्ब ३२ करोड ९२ लाख आम्दानी गरी ८१ करोड ५१ लाख खर्च गर्ने जनाएको छ । साथै, कोषले चालु आर्थिक वर्षमा कोषले ६० करोड दाबी भुक्तानी गर्ने लक्ष्य पनि तय गरेको छ ।        

निक्षेप तथा कर्जा सुरक्षण कोषका अनुसार गत आर्थिक वर्षमा कोषले ८ खर्ब ११ अर्ब निक्षेप सुरक्षण गरेको छ । ६६ वटा बैंक तथा वित्तीय संस्थामा रहेका ३ करोड १ लाख निक्षेप खाताबाट सो निक्षेप रकम सुरक्षण गरेको हो । समीक्षा अवधिमा कोषले लक्ष्यभन्दा करिब १६ प्रतिशतले बढी प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ६० लाख खाताको ६ खर्ब ८९ अर्ब निक्षेप सुरक्षण गरेको छ ।    

कोषले गत आर्थिक वर्षमा १ खर्ब २८ अर्बको कर्जा सुरक्षण गरेको छ भने १ खर्ब १७ अर्ब ८६ करोड लघु तथा विपन्न वर्ग कर्जा सुरक्षण गरेको छ ।  साथै, कोषले साना तथा मझौला उद्यममा प्रवाह भएको ३ अर्ब ५२ करोड कर्जा सुरक्षण गरेको । यता, कृषि कर्जा सुरक्षणबाट ३ अर्ब ८६ करोड कर्जा सुरक्षण गरेको छ ।   

त्यसैगरि, कोषमा पशुधनबाट ३८ करोड ७६ लाख कर्जा सुरक्षण भएको छ भने २३ अर्ब सहुलियत कर्जा सुरक्षण भएको छ । शैक्षिक कर्जा भने १५ लाख ६४ हजारमात्रै कर्जा सुरक्षण भएको कोषको तथ्यांक छ ।    
  

प्रतिक्रिया दिनुहोस