
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको व्यवस्थापन विरुद्ध कर्मचारीहरू आन्दोलनका तयारीमा लागेका छन्। बैंकमा बढ्दै गरेको चरम बेथिति र संस्थागत सुशासनको अभावले सीमा नाघ्न थालेपछि उनीहरू बाध्य भएर यस्तो तयारीमा लागेका हुन्।
यसको तयारी स्वरूप कर्मचारी युनियनले सबै कर्मचारीलाई आन्दोलनको लागि मानसिक रूपमा तयारीमा रहन शुक्रवार आन्तरिक सर्कुलर जारी गरेको छ। उता बैङ्क व्यवस्थापनले पनि कर्मचारीको आवाज दबाउन र सम्भावित आन्दोलन रोक्न शुक्रवार नै एकै चोटि ५० जना कर्मचारीको सरुवा गरेको छ। घटनाक्रम हेर्दा सो बैंकमा व्यवस्थापन र कर्मचारी बिचको टकराब निकै पेचिलो र उच्च बिन्दुमा पुगेको देखिएको छ।
यसरी हठात् सरुवामा पर्नेमा असिस्टेन्ट जनरल म्यानेजर देखि जुनियर असिस्टेन्टसम्मका कर्मचारी रहेका छन्। सरुवाको क्रममा सिइओ अफिसमा रहेका असिस्टेन्ट जनरल म्यानेजर सुरेश देवकोटालाई चिफ रिस्क अफिसरको जिम्मेवारी सहित एनेक्स बिल्डिङमा सारिएको छ। उता कर्पोरेट ब्रान्चमा कार्यरत राजेन्द्र प्रसाद अधिकारीलाई चिफ अपरेटिंग अफिसरको जिम्मेवारी सहित सिइओ कार्यालयमा लागिएको छ।
कर्मचारीलाई कतिसम्म दुख दिने नियतसाथ सरुवा गरिएको छ भने वर्षौँदेखि घर पायक जागिर खाइरहेकाहरूलाई असहज हुने गरी नयाँ ठाउँमा पोष्टिंग गरिएको समेत देखिएको छ। यस क्रममा आफ्ना नजिकका र अनेकौँ कर्तुत ढाकछोप गर्ने सहयोग गर्नेहरूलाई पुरस्कृत गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिइएको र सत्य, न्याय र सुशासनको पक्षमा आवाज उठाउने कर्मचारीलाई हतोत्साहित गर्ने गरी सरुवा गरिएको भन्दै कर्मचारीहरू थप आक्रोशित बनेका छन्।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुङ्गाना र व्यवस्थापन पक्षका केही व्यक्तिहरूले सो बैंकलाई मनोमानी ढङ्गले चलाएको आरोप लाग्दै आएको छ। बैंकको केन्द्रीय कार्यालय निर्माणार्थ बिशालनगरमा खरिद गरिएको जग्गा खरिदका क्रममा ठुलो अनियमितता भएको भन्ने विषयमा अख्तियार र राष्ट्र बैंकमा उजुरी परेको छ। त्यसमा सिइओ ढुङ्गाना लगायतका व्यक्तिहरू नै आरोपित छन्।
यस क्रममा उनले विषयलाई ढाकछोप गर्न आफ्नो अधिकार भन्दा बाहिर गएर गरेका कतिपय गतिविधिहरू सञ्चारमाध्यममा समाचार बनेपछि ढुङ्गाना निकै विचलित बनेको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन्। राष्ट्र बैंकले जग्गा खरिद सम्बन्धी अख्तियारले सोधेको प्रश्नको जवाफ माग्दै लेखेको पत्रको जवाफ बैङ्क सञ्चालक समितिलाई जानकारी नै नदिई ढुंगानाले सुटुक्क लेखेपछि सो सम्बन्धी समाचार आर्थिक न्युजले प्रकाशित गरेको थियो। त्यसपछि अख्तियार आफै सक्रिय भएर बैंकमा छापामारी जग्गा खरिदसँग सम्बन्धित फायल कब्जामा लिएपछि सिइओ ढुंगानाले आफ्नो विवेक गुमाएको कर्मचारीहरू बताउँछन्।
त्यसो त नेपाल बङ्गलादेश बैंकको अन्य बैंकसँग मर्जरको हल्ला चलाएर कर्मचारीको मनोबल गिराउन पनि उनी तल्लीन रहेको बुझिएको छ। कर्मचारी युनियनका एक पदाधिकारीले बताए अनुसार सबैलाई एक ग्रेड घटाएर मर्ज गर्ने तयारी रहेको हुँदा अहिले नै राजीनामा दिनु नै ठिक हो भन्ने ढङ्गले सूचना प्रवाह गराउन समेत ढुङ्गाना सक्रिय रहेका छन्।
उनले भने, "यदि कोही कसैको ग्रेड हाल कै अवस्थामा कायम रहेर मर्जर सम्पन्न भएमा कम्तीमा दुई वर्षसम्म निजले कुनै थप सुविधा वा थप ग्रेडिङ नपाउने गरी मर्जर गर्न अन्य बैंकहरुसँग सम्बद्ध चलिरहेको भन्ने जस्ता हल्ला फिँजाएर कर्मचारीलाई हतोत्साहित गर्ने काम भइरहेको छ।" खाइरहेको जागिर छाड्न, अन्यत्र जान उक्साउने र काम गर्न उचित वातावरण नदिएर निरुत्साहित गर्ने व्यवस्थापनको नियत देखिएको उनको बुझाई छ।
शुक्रवारको सरुवा त्यसको पछिल्लो उदाहरण भएको बताउँदै उनले भने, "यसरी जागिर खान नै असहज हुने गरी सरुवा गर्नुको अर्थ के हो ? स्पष्ट छ, जागिर छोडुन् भन्ने हो। तर, हामी यहाँ कसैको 'राणा शासन' चल्न दिँदैनौ। कडा आन्दोलन र प्रतिरोध गर्छौँ।"
आफूलाई सजिलो पार्न र आफ्ना कर्तुतबारे बोल्ने वा बाहिर सूचना चुहाउने कर्मचारीलाई तर्साउने उद्देश्य पछिल्लो सरुवामा रहेको ठहर कर्मचारी युनियनले गरेको छ। यसरी आफ्नो योजनामा तगारो बन्न सक्ने देखेर व्यवस्थापनले कर्मचारीलाई दुख दिन थालेपछि बङ्गलादेश बैङ्कका कर्मचारीहरू आन्दोलनको तयारीमा लागेका हुन्।
आन्दोलनको तयारी स्वरूप आङ कर्मचारीलाई सचेत पार्न बंगालदेश बैङ्क कर्मचारी युनियनले शुक्रवार एक आन्तरिक सर्कुलर नै जारी गरिसकेको छ। सो सर्कुलरमा व्यवस्थापन पक्षबाट योजनाबद्ध रूपमा अनेकौँ अफवाहहरू फैलाएर कर्मचारीलाई काम गर्न र जागिरलाई निरन्तरता दिन निरुत्साहित गर्ने गरी वातावरण धुमिल पार्न खोजेकोमा सचेत रहन भनिएको छ। धमिलो पानीमा माछा मार्ने सिइओ लगायतका केही मुठ्ठीभर मानिसहरूको जालझेल र कपटपूर्ण योजनाका विरुद्ध आवश्यक परे सङ्घर्षको तयारीमा लाग्न र प्रतिरोधको लागि मानसिक रूपमा तयार रहन समेत आन्तरिक रूपमा सबै कर्मचारीलाई युनियनले आव्हान गरेको छ।
प्रतिक्रिया दिनुहोस